
अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा अमेरिका र चीनबीच बढिरहेको तनावका बीच सैन्य खर्च बढाउने भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी १० वर्षमा सेनाको बजेट २७० अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने बताएका छन् । यो अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढी हो ।
विश्वको प्रमुख प्रतिद्वन्द्विता नै यस क्षेत्रमा भएकाले सैन्य खर्च बढाउनुपरेको उनको भनाइ छ ।
मोरिसनले तनावका अनेकौं क्षेत्रको उल्लेख गरे । दक्षिण चीन सागर, पूर्वी चीन सागर र भारत–चीन सीमा तनावको नाम उनले लिए ।
विगत कैयौं दशकमा पहिलोपटक चीन र अस्ट्रेलियाको सम्बन्ध निकै बिग्रेको छ ।
केही दिनअघि अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढिरहेकाले युरोपबाट सेना घटाएर त्यता तैनाथ गर्ने फैसला लिइएको बताएका थिए ।
नयाँ रक्षा बजेट कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत हुनेछ । सन् २०१६ मा बनाइएको नयाँ रणनीतिको स्थान यसले लिनेछ ।
हतियार तथा उपकरणमा सुधारका लागि यी खर्चहरू गरिने मोरिसनको भनाइ छ ।
अस्ट्रेलियाले अमेरिकी जलसेनासँग लामो दूरीको २०० वटा एन्टीएयरक्राफ्ट मिसाइल किन्नेछ । त्यो ३७० किलोमिटर परसम्म पुग्न सक्छ । अनि हाइपरसोनिक सिस्टम मिसाइल विकसित गर्नका लागि पनि अस्ट्रेलियाले लगानी गर्नेछ । यी क्षेप्यास्त्रहरू हजारौं किलोमिटर पर पुग्न सक्छन् ।
साइबर वारफेयरका लागि अस्ट्रेलियाले १५ अर्ब अस्ट्रेलियन डलर खर्च गर्नेछ । अघिल्लो महिना मोरिसनले अस्ट्रेलियाली संस्थान र व्यापारिक प्रतिष्ठानमा साइबर आक्रमणमाथि साइबर आक्रमणको खतरा रहेको बताएका थिए । उनको इशारा चीनतर्फ थियो ।
अस्ट्रेलियाले आफ्नो अनि यस क्षेत्रका अन्य देशका लोकतान्त्रिक मूल्यलाई पूर्ण शक्तिका साथ प्रतिरक्षा गर्ने बताए । सैनिक क्षमता बढाउँदा युद्ध रोक्न पनि सहायता पुग्ने उनले बताए ।
हालैका दिनमा चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ । कोरोनाभाइरसको उत्पत्ति चीनमा भएको विषयमा अनुसन्धान गर्न अस्ट्रेलियाले माग राखेपछि दुई देशको सम्बन्ध बिग्रिएको हो ।