२२ जेठ २०८३, शुक्रबार

टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध

असार २४, २०७७
टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध
फाइल फोटो

भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो निर्माणमा अवरोध पुगेको छ ।

नेपाली सेनाले जेठ दोस्रो सातादेखि घोडेटो बनाइरहेको छ । भारतले आफ्नोतिर ठूला चट्टान फुटालेर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्केपछि बन्दै गरेको घोडेटो कटानमा परिरहेको छ ।

भारतले महाकाली किनारैकिनारबाट धार्चुला–लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेको थियो । नेपाली सेनाले बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न थालेको स्थानीयले बताए ।

सेनाले घोडेटोको ट्रयाक खोलिरहेको ठीक पारिपट्टि भारतले पनि निर्माणलाई तीव्रता दिएको हो । ‘भारतले नियमित रूपमा विस्फोट गराएर चट्टान तोडिरहेको छ,’ व्यासका रवीन्द्र जोहारीले भने, ‘ठूला मेसिन प्रयोग गरेर ठूल्ठूला ढुंगा महाकालीमा फाल्दा पानीको सतह माथि उठेको छ ।’ 

ठूला ढुंगा खसाल्दा नदी साँघुरिएर बहावको तीव्रता बढेको छ । जसका कारण घाटीबगरमा सेनाले खोलेको ट्रयाकमध्ये ४५ मिटर बाटो बगाएको छ ।

भारतले सडक विस्तार गर्न दिनमा ४–५ पटक विस्फोट गराएर चट्टान खसालिरहेको छ । विस्फोट हुँदा साना ढुंगा र चोइटा उछिट्टिएर आउने हुनाले ज्यान जोगाउनसमेत मुस्किल भएको घाटीबगरमा काम गर्नेहरू बताउँछन् । बाटो निर्माणका लागि सेनाले घाटीबगरमा क्याम्प राखेको ठाउँ होचो छ । त्यसैले भारतले विस्फोट गराउँदा सेना र अन्य कामदार बसेको ठाउँसम्मै ढुंगा खस्ने गरेको छ । सेना र कामदार बस्न टाँगिएका पालमा विस्फोटले उछिट्टिएर आएका ढुंगाले प्वालसमेत बनाएका छन् ।

बाटो बनिसकेको १५ मिटर क्षेत्रमा पहिरो खसेपछि त्यहीं फेरि काम गर्न धेरै समस्या खेप्नुपरेको सेनाले जनाएको छ । अहिले करिब दुई सय मिटर घोडेटो निर्माण भएको छ । महाकालीले कटान गरेको ४५ मिटर बाटो फेरि बनाउनुपरेकाले निर्धारित समयमा काम नसकिने सेनाको भनाइ छ । सेनाले घाटीबगरबाट मौरीभीरसम्मको ४ सय ५० मिटर घोडेटो असार मसान्तभित्र बनाइसक्ने लक्ष्यका साथ काम थालेको थियो ।

भारतले विस्फोट गराउँदै चट्टान नदीमा खसालिरहे नदीको सतह अझै माथि आउने सम्भावना रहेको कामदारहरूले बताएका छन् । उनीहरूका अनुसार अहिले सेनाले निर्माण गरिरहेको बाटोभन्दा ४–५ मिटर मात्रै मुनि महाकाली बगिरहेको छ ।

‘तलबाट नदी कटान भइरहेको छ । माथिबाट पहिरो खस्ने खतरा भएकाले जोखिम मोलेर काम गर्नुपरेको छ,’ सेनासँगै निर्माणमा खटिएका व्यास–५ का वीरेन्द्रसिंह धामीले भने । धामीसहित स्थानीय आठ जनाले उक्त बाटो निर्माणमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । धामी उक्त बाटोमा ड्रिलिङको काम गर्छन् ।

स्थानीय जेहेन्द्र भण्डारीका अनुसार भारतीयले एक पटक सिट्टी फुक्ने र लगत्तै विस्फोट गराउने भएकाले हतारहतार लुक्नुपर्ने अवस्था रहेको बताए । ‘हामीले यस्तो दिनहुँ भोग्दै आएका छौं । यहाँ बस्ने सेना नै असुरक्षित छन्, हामी त हुने नै भयौं,’ उनले भने ।

घाटीबगरको खोंचमा सेनाको क्याम्प र हेलिप्याड बनाइएको ठाउँको तलतिर पनि महाकालीले कटान गरिरहेको छ । पारिपट्टि नदी किनारमा ठूला ढुंगा र माटो थपिँदै जाँदा महाकाली वारितर्फ सरिरहेको छ ।

घाटीबगर र मौरीभीरमा पर्ने बाटो छिटो सञ्चालन गर्ने जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहितको टोली त्यस क्षेत्रमा खटिएको हो ।

व्यास–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाटीबगरमा पहिरोसमेत गएकाले व्यास–१ मा पर्ने छाङरु र टिंकर गाउँका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउ गर्न समस्या छ । नेपालतर्फ बाटो नहुँदा उनीहरूले आफ्नो थातथलो आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

बाटो निर्माणमा भारतले अवरोध पुर्‍याइरहेको बारे माथिल्लो निकायलाई खबर गरेको एक सैनिक अधिकारीले बताए । उनका अनुसार बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति (इन्जिनियर) र थप सुरक्षा तथा बन्दोबस्तीका लागि फौज बाटो निर्माणमा खटिएका छन् । यहाँ दुई सय मिटरको चट्टान छ । सय मिटर सुक्खा पहिरो गएको हटाउनुपर्ने र बाँकी ठाउँमा बाटो निर्माण गर्नुपर्ने छ । चट्टानमा ब्लास्टिङ गरेर बाटो बनाइँदै छ । यो बाटो बनेपछि व्यासको छाङरु र तिंकरका बासिन्दाले नेपाली भूमिबाटै सदरमुकाम आउजाउ गर्न पाउनेछन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सीमावर्ती पिथौरागढ जिल्लाका डीएमले सडक निर्माणका ठेकेदारलाई असर नहुने गरी तलमाथि मिलाएर काम गर्न लगाउने मौखिक आश्वासन दिएको तर त्यहीअनुसार काम नभएको बताए । ‘मेरो तहबाट कुरा गर्दा समाधान भएन । दूतावासमार्फत पहलका लागि प्रयास भइरहेको छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्