
भारत र चीनबीच तनावको स्थिति चलिरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विपक्षी तथा आलोचकहरू आक्रामक बनेका छन् ।
तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनमा मोदीले बधाई नदिएको विषयमा ताजा विवाद उठेको छ ।
मोदी प्रधानमन्त्री बनेदेखि नै आफ्नै दलका नेता, विपक्षी, विदेशी सरकार तथा राज्यप्रमुखलाई जन्मदिनको शुभकामन सन्देश दिने गरेका छन् ।
तर दलाई लामालाई बधाई नदिएपछि उनी आलोचनाको तारो बनेका छन् ।
दलाई लामाको जन्मदिन सोमवार परेको थियो । सन् १९८५ मा जन्मेका उनी अहिले ८५ वर्षका भए ।
धेरै मानिसहरू दलाई लामाको जन्मदिनमा मोदीले शुभकामना नदिनुलाई भारत–चीन तनावसँग जोडेर हेर्छन् । दलाई लामा विश्वका विभिन्न मञ्चमा चीनविरुद्ध बयान दिइरहेका हुन्छन् ।
देशको प्रधानमन्त्री नबन्दै सन् २०१३ मा मोदीले दलाई लामालाई बधाई दिएका थिए, त्यसपछि छैनन् ।
यत्तिका वर्ष प्रधानमन्त्री हुँदा उनले जन्मदिनको शुभकामना दिएनन् । यसमा विपक्षी दल कांग्रेसले कटाक्ष गर्दै मोदीलाई शुभकामना नदिन के बाध्यता आइलाग्यो भनी कटाक्ष गरेको छ । प्रधानमन्त्री कार्यालयले समेत शुभकामना दिएको छैन ।
त्यसो त विपक्षी नेताहरू सोनिया गान्धी र प्रियंका गान्धी लगायतले पनि दलाई लामालाई शुभकामना दिएका छैनन् ।
चीनलाई नचिढ्याउन मोदीले यसो गरेको भनी बुद्धिजीवीहरूले औंल्याएका छन् । दुई देशबीच सीमाविवाद भएर २० जना भारतीय सैनिक मारिँदा समेत मोदीले औपचारिक सम्बोधनमा चीनको नाम एकपटक पनि उच्चारण गरेका छैनन् ।