२५ जेठ २०८३, सोमबार

भारतीय मिडियामा नेपालबारे अफवाह, के हेरेर बस्छ हाम्रो दूतावास ?

भारतीय मिडियामा नेपालबारे अफवाह, के हेरेर बस्छ हाम्रो दूतावास ?

नेपालमा सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक विवादलाई लिएर पछिल्ला दिनमा भारतीय मिडियामा अफवाह आउन थालेको छ ।

नेपालले आफ्नो नक्सा जारी गरेपछि भारतीय मिडियाले प्रत्येक दिनजसो गलत तथ्यसहित समाचार या विश्लेषण प्रकाशन र प्रसारण गरिरहेका छन् । 

हिन्दी दैनिक, टेलिभिजन तथा अंग्रेजी दैनिकमा प्रकाशित प्रकाशित समाचारमा उनीहरूले ‘नेपाल चीनको पोल्टामा गयो’ भन्ने आशय अभिव्यक्त गरिरहेका छन् ।

केही सञ्चार माध्यमले नेपालका लागि चिनियाँ राजदूतलाई जोडेर विभिन्न अफवाह फैलाएका छन् ।

गत असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नक्सा प्रकाशित गरेपछि भारतीय मिडिया र बुद्धिजीविले आफ्नो सरकारविरुद्ध मिसन गरिरहेको बताएका थिए ।

नेपाल मामिलामा भारतीय मिडियाले अतिरिक्त चासो दिइरहेका छन् । 

भारतीय टेलिभिजन जी न्यूजले चिनियाँ राजदूतलाई गैर कूटनीतिक भाषा प्रयोग गरेर आरोप लगाएको छ ।

केहीदिन पहिले आजतकको अनलाइन संस्करणमा चिनियाँ राजदूतले नेपाललाई भारतको पोल्टाबाट खोसेर लगेको आरोप लगाउँदै स्टोरी लेखेको थियो । 

भारतीय मिडियामा नेपाल मामिलाको बारेमा अफवाह फैलाउने समाचार आउँदा पनि दिल्लीस्थित नेपाली दूतावास भने मौन छ । त्यस्ता अफवाह फैलाउन नदिन दूतावासको कुनै भूमिका देखिन्न । 

‘भारतीय मिडियामा एकप्रकारको चीनफोबिया छ, नेपालमा चीनको गतिविधि बढ्यो भनेर उनीहरू एकतर्फी प्रचार गरिरहेका हुन्छन्,’ भारतका लागि एक पूर्व नेपाली राजदूतले भने, ‘त्यस्ता अफवाह रोक्न कुटनीतिक च्यानल प्रयोग गर्नुपर्छ ।’ यसका लागि दूतावासलाई चलायमान बनाउने र डायनामिक व्यक्तिलाई राजदूत बनाएर पठाउनु पर्ने उनको तर्क छ ।

कुनै दुई देशको मामिलामा तेस्रो मुलुक र उसको राजदूतलाई जोड्नु आपत्तिजनक भएको जानकारहरू बताउँछन् ।

चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झा भारतीय मिडियामा आइरहेका अफवाहले नेपाल–भारत सम्बन्धमा असर पार्ने बताउँछन् ।

‘दुई देशको सम्बन्धमा असर पार्ने काम मिडियामा प्रकाशित हुनु दु:खद् हो, त्यसमा पनि तेस्रो मुलुक र उसको राजदूतलाई जोडेर कु-प्रचार गर्नु कुनै पनि प्रजातान्त्रिक देशका मिडियाले गर्न हुने काम होइन,’ डा. झा भन्छन्, ‘कूटनीतिक च्यानल प्रयोग गरेर त्यस्ता अफवाह रोक्न पहल गर्नुपर्छ ।’

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको नक्सा प्रकाशित गरेपछि ओली भारतीय मिडियामा तारो बनेको झाको बुझाइ छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखमा गएर बोल्न हुने, ओलीले आफ्नो देशको नक्सा प्रकाशित गर्न नहुने ?’ झा प्रश्न गर्छन्, ‘ओलीलाई ३ करोड जनताले गाली गर्न पाउँछन्, कुनै विदेशीले होइन ।’

salt training

कमेन्ट गर्नुहोस्