
नक्कली मानिस खडा गरेर मृगौला प्रत्यारोपण गरेको आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष गोपाल महर्जन र २ जना प्रहरी सहित १२ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै अवैध मिर्गौला प्रत्यारोपण गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार वडाध्यक्ष महर्जन, चितवन जिल्लाका प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सका टिचिङ अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, कलेज अफ मेडिकल साइन्सका टिचिङ अस्पताल भरतपुरका प्रमुख संचालक डा. सुप्रभात श्रेष्ठ, अस्पतालकै डा. बालकृष्ण कालाखेती, नोबल अस्पतालका डा. राकेश कुमार बर्मा, भक्तपुर नगरपालिका ६ की जमुनाराज भण्डारी, टोखा नगरपालिका बस्ने गुल्मी रेसुङ्गाका प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, काठमाडौं रानीबारी बस्ने झापा कन्काई नगरपालिका २ का निलम्बित प्रहरी नायब निरीक्षक योगेनद्रराज थपलिया, भोजपुर हसनपुरकी रेश्मा राई र जिल्ला प्रशासन कार्यालय ललिपुरका तत्कालीन खरिदार नवराज केसीलाई पक्राउ गरिएको हो ।
उनीहरुले विदेशमा रहेका मिर्गौला लिने व्यक्तिका भान्जा रिजनविर जोशीको नक्कली काजपत्र तयारी गरी मिर्गौला प्रत्यारोपण गरेको मानब बेचविखन व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली मानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ को दफा (१) (ग) को कसुरबमोजिम कारबाही हुने व्यूरोले जनाएको छ ।