
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।
साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरीे आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कँडेल रहेका छन् ।
सो सभाले सञ्चालक समितिको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।
साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्ध पत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पारित गरेको छ ।
कम्पनीले मिति २०७४।०८।०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरूबाट आफ्नो कार्य संचालन गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पूँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।