
चीनले सोमवार अमेरिकाका दुई सिनेटर सहितका अधिकारीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।
बेइजिङले उइगुर मुसलमानका विरुद्ध गरेको व्यवहारका लागि अमेरिकाले वरिष्ठ चिनियाँ अधिकारीहरूमाथि लगाएको प्रतिबन्धको जवाफका रूपमा चीनले यो कदम चालेको हो ।
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकी सिनेटरहरू टेड क्रुज र मार्को रुबियो अनि अमेरिकी प्रतिनिधि क्रिस स्मिथ र साम ब्राउनब्याकमाथि प्रतिबन्ध लगाएको हो ।
‘अमेरिकाको कारवाहीले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको छ, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्यमान्यतालाई गम्भीर रूपमा उल्लंघन गरेको छ र चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति पुर्याएको छ,’ उनले नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकारहरूलाई बताइन् ।
‘चीनले विकसित परिस्थितिका आधारमा थप निर्णय लिनेछ,’ उनले थपिन् ।
हुआले प्रतिबन्धमा के कुरा समेटिन्छ भनी खुलाइनन् । अमेरिकाले चाहिँ चिनियाँ अधिकारीहरूको अमेरिकामा रहेको सम्पत्ति रोक्का गर्ने, अमेरिका आउन प्रतिबन्ध लगाउने अनि उनीहरूसँग अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने कारवाही गरेको छ ।