
भारतको राजस्थानमा मुख्यमन्त्री अशोक गहलोत र उपमुख्यमन्त्री सचिन पाइलटबीचको लडाइँको टुंगो लागेको छैन ।
कांग्रेसको यो आन्तरिक लडाइँमा भाजपाले कडा नजर राखिरहेको छ । पाइलटले भाजपासँग सम्पर्क गरेको खबरलाई खारेज गरेका छन् र भाजपा आफैंले पनि राजनीतिक नाटकमा आफ्नो भूमिका नरहेको बताउँदै आएको छ ।
तर भाजपाले पाइलटलाई आफूकहाँ ल्याउन खोजिरहेको छ । पाइलटको जनाधार बलियो भएकाले उनी आए भने आफूलाई ४९ सीटमा फाइदा हुन सक्ने उसको आकलन छ ।
सचिन पाइलटको आकर्षणकै कारण हालैका वर्षमा राजस्थानको राजनीतिमा दुई विपरीत ध्रुवमा रहेका गुर्जर र मीणा समुदायबीचको दूरी हटेको थियो । आरक्षणको विषयमा उनीहरूबीच हिंस्रक भिडन्त हुने गरेको थियो र कैयौंको ज्यान गएको थियो ।
उनीहरूबीचको कटुतालाई अन्त्य गर्न सचिन पाइलटले सन् २०१८ को विधानसभा चुनावमा सफलता पाए ।
सन् २००४ मा पहिलोपटक विधायक बनेपछि पाइलटले गुर्जर–मीणा एकता अभियान चलाए अनि एकपछि अर्को र्याली गरे । उनकै प्रयासस्वरूप कट्टर विरोधी समुदाय एकसाथ आए अनि भाजपालाई सत्ताबाट निकाले । गहलोतविरुद्धको राजनीतिक लडाइँमा पाइलटसँग पाँचजना मीणा विधायक छन् ।
राजस्थानको राजनीतिमा गुर्जर र मीणाको महत्त्वपूर्ण भूमिका छ । दुई समुदायलाई साथै राखेर हेर्दा पूर्वी राजस्थानको ४९ विधानसभा सीटमा उनीहरूको पकड देखिन्छ । दुवैलाई साथ ल्याउन सचिन पाइलटले अथक प्रयास गरे । उनी आफैं चाहिँ गुर्जर हुन् ।