२२ असार २०८३, सोमबार

बजेटको संशोधित लक्ष्य पूरा, एकै दिन २५ अर्ब राजस्व सङ्कलन

साउन २, २०७७
बजेटको संशोधित लक्ष्य पूरा, एकै दिन २५ अर्ब राजस्व सङ्कलन

कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा गहिरो असर परेपछि दोस्रो पटक संशोधन गरिएको गत आर्थिक वर्ष २०७६÷७७ को बजेटका कतिपय लक्ष्य पूरा भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै गत आवमा सरकारको कुल खर्च १० खर्ब ७३ अर्ब ३५ करोड पुग्ने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो । यही बुधबार अर्थात् गत आवको अन्तिम दिन सरकारी खर्च १० खर्ब ९४ अर्ब नाघेको छ । यस हिसाबले खर्चको संशोधित अनुमान पूरा भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।

सरकारले गत आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपियाँ खर्च गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको थियो । गत माघमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै १३ खर्ब ८५ अर्ब ९६ करोड रुपियाँ मात्र खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले प्रस्तुत गरेको थियो । कोरोना सङ्क्रमण नियन्त्रणस्वरूप बन्दाबन्दी सुरु भएपछि अर्थतन्त्र शिथिल बनेको भन्दै सरकारले बजेटमार्फत खर्चको संशोधित अनुमान १० खर्ब ७३ अर्ब अर्थात् कुल विनियोजनको ७० प्रतिशत पु¥याएको थियो ।

सरकारको संशोधित लक्ष्य अनुसार कुल विनियोजनको ७३.३ प्रतिशत चालू खर्च हुने अनुमान गरिएकोमा यस्तो खर्च सात खर्ब ८६ अर्ब अर्थात् ८२.१८ प्रतिशत पुगेको महालेखाको तथ्याङ्क छ । विकास बजेट खर्चमा भने सरकार पुनः कमजोर देखिएको छ । संशोधित अनुसार कुल विनियोजनको ५८.६ प्रतिशत विकास खर्च हुने लक्ष्य राखिएकोमा ४७ प्रतिशत मात्र अर्थात् एक खर्ब ९१ अर्ब रुपियाँ मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेकोमा ६९.१३ प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

राजस्व पनि लक्ष्य नजिक
कोरोना सङ्क्रमणका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व  सङ्कलनमा पर्न सक्ने असरको दबाबमा रहेको सरकारलाई आर्थिक वर्षको अन्तिम दिन केही राहत मिलेको छ । संशोधित अनुमान अनुसार कुल विनियोजनको ७४.४ प्रतिशत अर्थात् आठ खर्ब २७ खर्ब राजस्व सङ्कलन हुने लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत अर्थात् सात खर्ब ९३ अर्ब ७८ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्कलित राजस्व संशोधित लक्ष्य नजिक हो ।

सर्वोच्च अदालतले बन्दाबन्दी खुला भएको एक महिनापछि मात्र कर उठाउन दिएको आदेशका कारण पनि सरकारले गत आवकै केही राजस्व सङ्कलन गर्न बाँकी नै छ । यस्तोमा राजस्वको संशोधित अनुमान पूरा गर्न सक्ने देखिन्छ । महालेखाको अपरिष्कृत तथ्याङ्क अनुसार कर राजस्वतर्फ गत आवमा सात खर्ब सङ्कलन भएको छ । गैरकरतर्फ ९३ अर्ब ७२ करोड रुपियाँ राजस्व उठेको छ । वैदेशिक अनुदानतर्फ ३२ अर्ब प्राप्त हुने अनुमान रहेकोमा १८ अर्ब ४२ करोड रुपियाँ मात्र प्राप्त भएको देखिन्छ ।

एकै दिन २५ अर्ब राजस्व सङ्कलन
गत आवको अन्तिम दिन अर्थात् बुधबार मात्रै सरकार २५ अर्ब १७ करोड रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । त्यसमध्ये २३ अर्ब ३५ करोड कर राजस्व, एक अर्ब ८२ करोड गैरकर राजस्व रहेको छ । बुधबार मात्रै सरकारले एक अर्ब ६० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ । त्यस्तै बुधबार मात्रै सरकारले १३ अर्ब ६० करोड रुपियाँ खर्च गरेको छ । जसमध्ये ५९ करोड ८६ लाख रुपियाँ चालूतर्फको खर्च रहेको छ । एकै दिन ११ अर्ब पाँच करोड रुपियाँ विकास खर्च भएको छ, जुन गत आवकै सबैभन्दा धेरै हो । वित्तीयतर्फ एक अर्ब ९५ करोड रुपियाँ खर्च भएको महालेखाको तथ्याङ्क छ ।

आन्तरिक राजस्व बढ्यो
कोरोना सङ्क्रमण हुँदा पनि आन्तरिक राजस्व सङ्कलन सात प्रतिशतले बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आवमा तीन खर्ब ८४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा विभागले तीन अर्ब ५८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

यस हिसाबले गत आवमा त्यसको अघिल्लो आवको तुलनामा २६ अर्ब रुपियाँ बढी अर्थात् सात प्रतिशतले राजस्व सङ्कलन बढेको छ । सङ्कलित राजस्वमध्ये आयकरतर्फ दुई खर्ब १७ अर्ब, मूल्य अभिवृद्धि करतर्फ ९८ अर्ब २२ करोड, अन्तःशुल्कतर्फ ६४ अर्ब ७९ करोड, शिक्षा सेवा शुल्क र अन्यसमेत गरेर चार अर्ब चार करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्