०८ असार २०८३, सोमबार
बाल प्रतिभा

प्रतिभाशाली ८ वर्षीया प्रेन्सा : यूट्युबमा बाँड्छिन् ज्ञान, गरीबलाई कापीकलम दान

साउन ३, २०७७
प्रतिभाशाली ८ वर्षीया प्रेन्सा : यूट्युबमा बाँड्छिन् ज्ञान, गरीबलाई कापीकलम दान

उमेरले सानी तर प्रतिभा अनेक । पोखराकी प्रेन्सा रेग्मी ८ वर्षकी भइन्, ३ कक्षामा पढ्छिन् । उनको बहुप्रतिभा लकडाउनको बेलामा निकै खुलेर आयो ।

विद्यालय जानबाट वञ्चित उनीजस्तै बालबालिका प्रेन्साको प्रस्तुति एवं सहयोगी भावबाट प्रेरित बन्ने गरेका छन् ।

तपाईं पोखरा महानगरपालिका–१७ बिरौटा पुग्नुभयो भने प्रेन्सालाई मास्क बेचिरहेको भेट्नुहन्छ । उनले केही हप्तायता आफ्नो घर नजिकै चौतारोमा बसेर मास्क बेच्ने गरेकी छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणका सर्वसाधारणलाई मास्क बेचेर बचेको पैसा उनले सामाजिक सेवामा लगाउँछिन् । सरकारले पनि यतिखेर मास्क विना घरबाहिर ननिस्कनू भन्ने उर्दी जारी गरेपछि मास्क अनिवार्य साधन बनेको छ ।

आयआर्जन कम रहेका परिवारका आफूजस्तै उमेरका साना भाइबहिनीको लागि उनले बचत रकम सहयोग गर्ने गरेको बताइन् । प्रेन्साले भनिन्, ‘कोरोनाले धेरै जनालाई दुःख भएको छ । कति धेरैले आफूले चाहेको बेलामा खान पाउनुभएको छैन । कापीकलम किताब किन्न पाउनुभएको छैन । उहाँहरूलाई हेल्पको लागि मैले यस्तो काम गरेकी हुँ ।’

दह्रिलो आत्मविश्वास बोकेकी उनले अगाडि भनिन्, ‘काम गरेर खान के को लाज ? चोर्नु ढाट्नु त भएन । सबै जनालाई सानोठूलो नभनी काम गरे देशको उन्नति हुन्छ ।’ 

उनका बुवाआमा बिरौटामै स्टेसनरी चलाउँछन् । अघिल्लो वर्षदेखि सञ्चालित स्टेसनरीको नाम ‘नमस्ते पोखरा स्टेसनरी’ हो । उनका बुवाको नाम रामकृष्ण रेग्मी र आमाको नाम जयन्ती रेग्मी हो । प्रेन्साका एक दाइ छन्, उनको नाम प्रोगेस हो ।

घरनजिकैको शिशु निकेतन स्कूलमा ३ कक्षमा पढ्ने विद्यार्थी प्रेन्सा पढाइमा पनि अब्बल छिन् । सधैं ‘टप टेन’भित्रै पर्छिन् । अतिरिक्त क्रियाकलाप गर्न भनेपछि हुरुक्कै हुने उनी विशेषगरी अभिनय गर्न रुचाउने गरेको विद्यालयका शिक्षकको अनुभव छ । 

विद्यालयको आधारभूत तह संयोजक खीमकुमारी शर्माले केही महिनाअघि मात्र उनको क्षमताबारे भेउ पाइन् । कोरोना महामारी आउनुअघिको कुरा हो, विद्यालयमा पढाइका अलावा नियमितरुपमा अतिरिक्त क्रियाकलाप हुँदै थियो । कक्षाका करीब १२० जना विद्यार्थीलाई आफूले जानेको क्रियाकलाप गर्न अह्राइयो । तीमध्ये कतिपयले नाचे, केहीले गीत गाए, कतिपयले पेन्टिङ गरे भने केहीले भाषण कला प्रस्तुत गरे तर अभिनय रोजेकी प्रेन्साले समसामयिक विषयमा गरेको क्यारिकेचरले सबै जनाको ध्यान खिच्यो । त्यतिबेला सबै जनाले उनको कलाको जादु देख्ने मौका पाए । 

त्यसले अझ प्रस्फूटन हुने अवसर पायो, लकडाउनको फुर्सदिलो समयमा । कोरोना भाइरस महामारीका न्यूनीकरणका लागि जारी लडडाउनले घरभित्रै खुम्चिनुपर्दा समय पर्याप्त हुने । प्रेन्साले पनि दाजु र बुवाको सहयोगमा मोबाइलमा विभिन्न भिडियो खिचेर फेसबूकमा पोस्ट्याउन थालिन् । बाल अभिनय यूट्युबमा अपलोड भयो भने टिकटक पनि बन्दै गयो ।

मुलुकको पछिल्लो राजनीति, कोरोना भाइरस महामारी, नेपाल–भारत सीमा विवाद, वैदेशिक रोजगारी, गाउँघरमा बाँझो बन्दै गएको खेतबारी, दुःखी, गरीब र मजदुरको पीडा व्यंग्यात्मक शैलीमा भिडियो बन्दै गए । सरोकारवालालाई समेत घच्घच्याउनेखालका उनका भिडियो आफन्त, साथी, विद्यालयका गुरु वर्ग, इष्टमित्र तथा छरछिमेकले धमाधम शेयर गर्न थाले । मानौं उनी भाइरल भइन् ।

म्याग्दीको मंगला गाउँपालिका स्थायी घर भएका रेग्मी परिवार छोरीको प्रतिभा देखेर दंग छ । बुवा रामकृष्णले युट्युबमा ‘प्रेन्सु अफिसियल’ नामक च्यानल खोलिदिएका छन् ।

लामो खालको अनुच्छेद पनि नहेरीकन प्रस्ट बोलीमा भन्न सक्ने उनको विलक्षण क्षमता छ । लकडाउनकै बेलामा २ कक्षा उत्तीर्ण भइ ३ पुगेकी उनले आफ्नो कक्षाका विषय भिडियोमार्फत अरु साथीलाई पढाउने गरेकी छन् । अंग्रेजी, गणित, विज्ञान, नेपाली लगायतका मुख्य–मुख्य विषय उनले एकचरण पढेर भ्याइसकेको बताइन् । सबै उनलाई कण्ठस्थ आउने गरेको उनका पिता रामकृष्णको दाबी गरे ।

सानै उमेरदेखि नै फरक क्षमता देखेका उनी छोरीले भविष्यमा लय समात्नेमा ढुक्क छ । लकडाउनका बेला घरमा बस्नुपर्दा छोरीको कला अझै निखार आएको देखेका उनले हरेक भिडियो शेयर गरेर सहयोग गर्छन् । छोरीको कला देखेर केही मिडिया पनि खोज्दै आएको उनले बताए । 

आमा जयन्ती. पनि सानैदेखि प्रेन्साको स्वभावबारे पूरापूर जानकार छिन् । भनिन्, ‘छोरीको आफूले मात्र नखाने अरुलाई पनि केही दिन पाए हुन्थ्यो भन्ने स्वभाव छ । निकै ज्ञानी र बुझक्की छ । दोस्रो सन्तानको रुपमा यति राम्री छोरी पाएकोमा निकै खुशी छु ।’ 

मास्क बेचेपछि बचत भएको रकमबाट प्रेन्साले सानो उमेरका १० जना बढीलाई पढाइको लागि आवश्यक स्टेसनरी सामग्री सहयोग गरिसकेकी छन् । केही दिनअघि उनले सर्वसाधारणलाई वितरण गर्ने गरी प्रहरीलाई समेत मास्क हस्तान्तरण गरिन् । घरबाहिर निस्कँदा विना मास्क हिँड्नेलाई पोखरामा प्रहरीले समातेर जरिवाना लिन थालेपछि कारबाहीमा परेकाहरूलाई वितरण गर्न मास्क दिएको प्रेन्साले बताइन् । 

आमा जयन्तीले स्टेसनरीमा प्रेन्सा स्टल समेत बनाएकी छन् । कसैलाई कापी किन्ने पैसा नभए फ्रीमै लैजान सकिने सूचना समेत टाँसेकी छन् । सानैदेखि अरुलाई सहयोग गर्न रुचाउने यी प्रतिभाशाली प्रेन्सा बालबालिकामाझ उदाहरणीय बनेकी छन् ।

भविष्यमा के बन्ने भन्ने जिज्ञासामा उनको सटिक जवाफ छ, ‘देशको लागि जे आवश्यक पर्छ, त्यही बन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्