
पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिवार कोभिडको राष्ट्रिय अध्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्मका कूल संक्रमित १७ हजार ५०२ जनामध्ये ११ हजार ६३७ जना डिस्चार्ज भइसकेका बताए ।
डिस्चार्ज हुनेको संख्या कूल संक्रमितको ६६.१२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।
देशभर सक्रिय कोरोना संक्रमित ५ हजार ८२५ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए । देशभर क्वारेन्टीनमा रहेका व्यक्तिको संख्या २३ हजार २७५ जना रहेको जनाइएको छ ।
रौतहट, कैलाली र बाजुरा जिल्लामा हाल पनि ५०० जनाभन्दा बढी संक्रमित उपचाररत रहेका छन् भने कोरोना शून्य भएका जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेका प्रवक्ता गौतमले बताए ।