०९ असार २०८३, मंगलबार

चितवनको राम–लक्ष्मणको तस्वीर सहित आयो हजार रुपैयाँको नोट

साउन ९, २०७७
चितवनको राम–लक्ष्मणको तस्वीर सहित आयो हजार रुपैयाँको नोट

एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् ।

नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेपछि यो अवस्था आएको हो । बैङ्कका प्रवक्ता गुणाकर भट्टले स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर परिवर्तन गरिएको जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउँछन्। एक हजारको नोटमा राम–लक्ष्मणको तस्बिर राख्ने कदमले संरक्षणकर्मीलाई गर्वको अनुभूति गराएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए।

नयाँ नोट काठमाडौँमा उपलब्ध भइसकेको छैन । पृथ्वी राजमार्गको पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट आएका नोट चितवनमै रहेको जानकारी बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले बताए। बाटो खुल्नासाथ नयाँ नोट काठमाडौँमा ल्याइनेछ ।

बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो ।

त्यसमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग, पुरातत्व विभागका उच्चाधिकारी तथा संस्कृतिविद् सत्यमोहन जोशी रहनुभएको थियो । नेपाली हात्ती एक हजारको नोटमा हेर्न पाउने भएपछि संरक्षणकर्मीमा उत्साह छाएको छ । 

माहुतेद्वय विनोद चौधरी र विनोदप्रसाद चौधरीको राम–लक्ष्मणको फोटो नोटमा हेर्ने उत्कट चाहना पूरा भएको छ । रामगजका माहुते विनोद चौधरीले उहिलेदेखि सुनेको कति फोटो पठाइयो तर अब बल्ल नोटमा आएछ भन्नुभयो ।

सरल स्वभावका दुई हात्ती अन्य जङ्गली भालेजस्तो उपद्रो मच्चाउँदैनन् । बिहानै उठ्छन् । आफू र अन्य हात्तीका लागि घाँस बोक्न जान्छन् । जङ्गलबाट घाँस खाएर अरू साथीका लागि घाँस र दाना पकाउन दाउरासमेत लिएर आउँछन् । हिउँदको कञ्चन राप्ती होस् वा छाल उर्लेको धमिलो बाढीमा पनि राम–लक्ष्मण सेवाका लागि तम्तयार हुन्छन् ।

केहीबेर आराम गरेपछि दिउँसो जङ्गलमा गस्ती गर्छन् । कतै तस्कर आयो वा वन्यजन्तुमा आक्रमण भयो भने तत्काल उद्धारमा माहुतेसँगै जुट्छन् । उद्धार गरेका वन्यजन्तुलाई सुरक्षित राख्छन् । वनभित्र वन्यजन्तु वा रुख बिरुवासम्बन्धी कुनै अध्ययन गर्नुपर्‍यो भने राम–लक्ष्मण अनिवार्य सारथि बन्छन् । यतिबेला राम सौराहाको हात्तीसारमा र लक्ष्मण चितवन निकुञ्जको मुख्य कार्यालय कसरामा कार्यरत छन् । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्