
पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो ।
अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो ।
पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।
उहाँले सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान रहेको बताए। तनहुँमा बिहीबार साँझदेखि अविरल रुपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। पानी परिरहे पनि कुनै क्षति भएको छैन । उनले भने, “अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको छ ।”