
चीनले पहिलेको भन्दा बढी आक्रामकता देखाइरहेको विषयमा विभिन्न किसिमका व्याख्याहरू आइरहेका छन् ।
अहिले अमेरिकाले वैश्विक नेतृत्वलाई क्रमशः त्याग्दै गएको अवस्था छ । झन् कोभिड संकटमा त अमेरिका कमजोर देखियो । अमेरिकामा अव्यवस्था र असमञ्जस चीनका लागि निकै राम्रो अवसरका रूपमा रहेको छ ।
त्यसमाथि अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ र बहालवाला राष्ट्रपति डेमोक्रेटिक प्रतिस्पर्धीसँग हारिने हो कि भनी चौतर्फी आक्रमण गरिरहेका छन् ।
त्यसैले गर्दा चीनले आफ्नो वरिपरिको क्षेत्रमा एकैपटक कदमहरू चालिरहेको छ । दक्षिण चीन सागर, पूर्वी चीन सागर र पूर्वी भुटानमा नयाँ भूभागमा दाबी, हङकङमा दमन अनि पूर्वी लद्दाखमा भारतीय सैनिकसँगको भिडन्तलाई यसै आलोकमा हेर्नुपर्छ ।
एसियामा प्रभुत्व जमाउनका लागि चिनियाँहरूले राम्रो अवसर देखेका छन् । देङ श्याओपिङले भनेमुताबिकको परराष्ट्रनीतिमा संयमलाई बिस्तारै त्याग्दै लगिएको छ ।
चिनियाँहरू अहिले इतिहासतर्फ फर्कंदैछन् । चिङ राजवंशको पालामा जस्तो उनीहरू आफ्नो प्रभुत्वलाई प्राकृतिक विकास मान्छन् ।
संसारप्रतिको उनीहरूको धारणा भनेको सबै देशले एक प्रणालीमा आआफ्नो स्थान स्वीकार गर्नुपर्छ जुन मर्यादाक्रम अनुसार निर्धारित हुन्छ ।
सन् २०१७ मा उनीहरूले ह्वाइट पेपर अन एसिया प्यासिफिक सेक्युरिटी कोअपरेसनमा लेखेका थिए, ‘प्रमुख मुलुकहरूले अन्य मुलुकका रणनीतिक उद्देश्यहरूलाई तटस्थ तथा तार्किक ढंगले हेर्नुपर्छ । साना तथा मध्यम आकारका देशले ठूला देशहरूको पक्ष लिनु हुँदैन ।’
उक्त दस्तावेजमा चीनले ठूला देश भनेर अमेरिका, रुस, भारत र जापानलाई लिएका थिए ।
सी चिनफिङ सत्तामा आएपछि न्यु मोडल अफ ग्रेट पावर रिलेसन्सको चर्चा गरेका थिए । त्यसमार्फत उनले अमेरिकालाई दुई मुलुकको समूह (जी२) को अवधारणा स्वकिार गर्नका लागि संकेत दिएका थिए । अमेरिकाका रणनीतिक विश्लेषक जिबिगन्यु ब्रजेजिन्स्की र सी फ्रेड बर्गस्टेनले यसको पैरवी गरेका थिए ।
तर अमेरिकाको मूड चिनियाँले बुझेनन् अनि सीले सन् २०१३ मा सन्नील्यान्ड्स शिखर सम्मेलनमा प्रस्ताव ल्याउँदा ओबामाले वास्तै गरेनन् । यस नयाँ मोडलमार्फत आफूलाई बराबरीको हैसियत दिलाउन चीनले अमेरिकालाई मनाउन खोजेका थियो । यसको अर्थ हुन्थ्यो, अमेरिकाले पश्चिम प्रशान्तमा चीनको प्रभुत्वलाई स्वीकार गर्नुपर्छ । तर अमेरिकाले पछि गएर पिभोट (केन्द्र) को कुरा गर्न थाल्यो जुन पछि गएर हिन्द–प्रशान्त नीति बन्यो ।
प्रमुख शक्तिहरूसँगको सम्बन्धको कुरा गर्दा चिनियाँहरूले अमेरिकालाई मात्र ध्यानमा राखे, भारतलाई राखेनन् । तर भारतले आर्थिक तथा सैन्य रूपमा चीनको बराबरी गर्न सक्ने सम्भाव्यता राख्छ ।
त्यसैले चीनले भारतलाई उदय हुन नदिनका लागि गर्नसक्ने जति सबै काम गर्छ ।
औपचारिक रूपमा बेइजिङले भारतसँग मित्रता र सहकार्यको चर्चा गर्छ तर व्यावहारिक रूपमा हेर्दा उसले पाकिस्तानलाई अघि सारेर भारतलाई सन्तुलनमा राखेको देखिन्छ ।
अनि भारतले पाकिस्तानविरुद्ध निरन्तर शत्रुतापूर्ण सम्बन्ध राख्ने नीति बनाएकाले चीनको मिसनलाई झनै सहयोग पुगिरहेको छ । भारतले नेपाल र श्रीलंका लगायतका छिमेकीप्रतिको नीतिमा देखाएको अक्षमताले समस्या झनै चर्काएको छ ।
ओआरएफमा प्रकाशित मनोज जोशीको विश्लेषण