२० असार २०८३, शनिबार

चार महिनापछि फरक ढंगले शुरू भयो सामुदायिक स्कूलको पठनपाठन

चार महिनापछि फरक ढंगले शुरू भयो सामुदायिक स्कूलको पठनपाठन

कोरोनाभाइरस (कोभिड– १९) को त्रासका कारण देशभरका सामुदायिक विद्यालय बन्द भइरहेको समयमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आइतवारदेखि नौलो ढंगले अनौपचारिक पठन–पाठन शुरू भएको छ । 

सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठनका लागि कुनै निर्णय लिन नसकेको समयमा गुल्मीको गाउँपालिकाले आफ्नै ढंगले अनौपचारिक पठन–पाठन शुरू गरेको हो ।

गाउँपालिकाको शिक्षा समितिको निर्णयानुसार आइतवारदेखि टोलटोलमा अनौपचारिक शिक्षण शुरू भएको हो । 

विगतमा विद्यार्थीहरू स्कूल आउने गरेकोमा अब शिक्षकहरू गाउँको टोलटोलमा गएर पठन–पाठन शुरू गर्न लागेका हुन् ।

‘हामीले जोरबिजोर रोल नम्बरका आधारमा कक्षा कोठामै पढाउने कि भनेर पनि छलफल गरेका थियौं, सरकारले लकडाउन हटाए पनि सामाजिक दूरी कायम गर्ने निर्णय गरेपछि त्यसलाई केही परिमार्जन गरेर टोलमै गएर पठनपाठन शुरू गर्ने निर्णय गरेका हौं,’ रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष परशुराम ज्ञवालीले लोकान्तरसँग भने । 

हप्तामा दुईदिन प्रावि, दुईदिन निमावि र दुईदिन माविका विद्यार्थीलाई जोरबिजोर रोल नम्बरका आधारमा पढाउने गृहकार्य भएकोमा त्यसलाई परिमार्जन गरेर पठन–पाठन शुरू भएको हो ।
अब टोलका सबै विद्यार्थी एकै ठाउँमा आएर पढ्न शुरू गरेका छन् । 

‘लामो समय विद्यालय नगई घरमा बसेका विद्यार्थीले शिक्षकसँग साक्षात्कार गर्न पाउँदा उनीहरू अनुशासित पनि बन्छन्,’ ज्ञवालीले भने । 

गाउँपालिका भरीका टोलमा आइतवारदेखि शुरू भएको अनौपचारिक कक्षाले विद्यार्थी र अविभावक दुवै उत्साहित देखिएको उनले बताए । 

‘स्कूलका कम्पाउण्ड झारले ढाकेर झाडी बनेका र भित्तामा लेउ लागेको अवस्था एकातिर छ, अर्कातर्फ चैत्रदेखि विद्यार्थीहरू स्कूल जान नपाएका कारण पढ्ने बानी पनि नबिर्सिऊन् भन्ने हेतुले अनौपचारिक पठनपाठन शुरू गर्ने निष्कर्षमा पुगको हौं,’ पूर्व शिक्षक समेत रहेका वडाध्यक्ष ज्ञवालीले लोकान्तरसँग भने । ​

ज्ञवा बलेटक्सार माविका प्रधानाध्यापक नारायण ज्ञवालीले विभिन्न टोलमा भइरहेको पठनपाठनको निरीक्षण गरेका छन् ।

टोलका विद्यार्थीलाई सार्वजनिक चौरमा सामाजिक दूरी कायम गरेर राखिएको छ । 

फरक दिन, फरक शिक्षक गएर विद्यार्थीहरूलाई सामूहिक ढंगले अध्यापन गराउने छन् । ‘निजामती सेवा, सेना, प्रहरीलगायत सरकारी कोषबाट तलब खाने कर्मचारी दिनदिनै काममा खटिने तर स्कूलका शिक्षकको सामाजिक दायित्व हुँदैन भन्ने प्रश्न पनि उठ्यो, उनीहरूलाई पठनपाठनको काममा व्यस्त गराउन पनि यो निर्णय गर्नु पर्‍यो,’ गाउँपालिकाको शिक्षा समितिका अर्का एक सदस्यले भने । 

सरकारले गरेको आग्रहअनुसार सामाजिक दूरी कायम गरेर पठनपाठनको कामलाई नयाँ ढंगले अगाडि बढाउनुको विकल्प नभएको उनले बताए । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थले विद्यार्थीको सुरक्षालाई ध्यान दिएर अनौपचारिक पठनपाठन शुरू गरिएको बताइन् ।

‘यसअघि पनि हामीले अनौपचारिक पठनपाठनको काम शुरू गरेका थियौं, संक्रमण फैलिने खतरा बढेपछि त्यो रोकेका थियौं,’ उपाध्यक्ष पन्थले भनिन्, ‘आइतवारदेखि गाउँपालिकाभित्रका सबै टोलमा पठनपाठन शुरू भएको छ, सयौं शिक्षक खटिनुभएको छ ।’

उपाध्यक्ष पन्थले भदौ १ गतेदेखि सरकारले पठनपाठन सुचारू गर्ने निर्णय गरेलगत्तै यसअघि क्वारेन्टीन राखिएका विद्यालयलाई डिसइन्फेक्सन गरेर पठनपाठनका लागि योग्य बनाइसकेको जानकारी दिइन् । ‘अब क्वारेन्टीनमा २०/२२ जना मात्र बाँकी छन्, उनीहरू घर फर्किएपछि ती स्कूललाई पनि डिसइन्फेक्सन गर्छौं,’ उनले भनिन् । 

अनौपचारिक कक्षा संचालन गर्दा पनि विद्यार्थीलाई फाइदा हुने उनको विश्वास छ । ‘स्कूल जान नपाएर हाम्रा केटाकेटी बिग्रिन थाले भनेर अभिभावकहरूको गुनासो आयो, उनीहरूले पढ्ने बानी नभुलुन् भनेर चौरमै राखेर भएपनि पठन–पाठन गर्ने निर्णयमा पुगेका हौं,’ पूर्वशिक्षिका समेत रहेकी उपाध्यक्ष पन्थले भनिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्