
स्थानीय र सेवाग्राहीका नजरमा महानगर कस्तो छ? सेवा राम्रो छ । सरल र सहज छ । कर्मचारी मिजासिला छन् । महानगर केही नयाँ र ठूला काम गर्दैछ । भनेर कि, सेवा लिनै गाह्रो भो भनेर ? यसैमा कर्मचारीको मुल्याङ्कन हुन्छ ।
जनताबाट राम्रो छ भन्ने आवाज आयो भने कर्मचारीको कार्य प्रणाली राम्रो भयो । मुल्याङ्कन राम्रो भयो । यदि यस्ता सकारात्मक उत्तर आएनन् भने मुल्याङ्कन राम्रो भएन । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल कर्मचारीसँग भन्छन्, ‘महानगरको सार्वजनिक छवि सुधार हुने काम गर्नोस् । मूल्याङ्कनमा तपाईको नम्बर त्यसै राम्रो आउँछ ।’
जिल्ला समन्वय समिति परिसरमा रहेका महानगरका विभागका अधिकारीहरुसँग कुरा गर्दै उनले आइतवार कर्मचारीसँग यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रसेवक कर्मचारी कहिल्यै पनि निराश हुनु हुँदैन । यसले राम्रो सन्देश जाँदैन । काममा तपाई उत्साहित हुनुहोस्, तपाईहरु प्रति म सकारात्मक छु । सबैले आफ्ना—आफ्ना ठाउँबाट वातावरण बनाऔं ।’
त्यस क्रममा उनले बार्षिक कार्ययोजना समयमा निर्माण गर्न, स्वच्छ र सफा कार्यस्थल बनाउन र चालु योजना कार्यान्वयन गर्दा आवश्यक पर्ने विगतका सूचना तथा तथ्याङ्कलाई टिपोट गरेर पठाउन आग्रह गरे ।
त्यस क्रममा बोल्दै प्रशासन विभागका प्रमुख नमराज ढकालले, फरक सेवाका कर्मचारीलाई एउटै सेवा ऐनले सम्बोधन गरेर समान रुपमा वृत्ति बिकास र क्षमता विकासका अवसर उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए । ‘महानगरसँग मनी (पैसा) छ, मटेरियल (सामाग्री) छ, मेथड (काम गर्ने विधि थाहा छ), तर पनि सोचेको परिणाम आएन भन्न सबैलाई लागेको छ,’ ढकालले थप्दै भने,‘नागरिकले तिरेको करप्रति उत्तरदायी र वित्तीय सुशासनप्रति जिम्मेवार भएर कर्मचारीलाई दिइने सुविधाप्रति नीति निर्माता कोही पनि नकारात्मक हुनुहुन्न । उत्साहित भएका काम गर्नोस् ।’
छलफलमा सामाजिक बिकास कार्यक्रमका बारेमा सनतकुमार थापाले, विपद् व्यवस्थापनका बिषयमा डा. उत्तरकुमार रेग्मी र यादब घिमिरेले, सम्पदा तथा पर्यटनका बिषयमा अर्चना शाक्यले, सार्वजनिक निजी साझेदारिताका विषयमा धु्रव काफ्लेले, जनस्वास्थ्य व्यवस्थापनका बिषयमा नरेन्द्रबिलास बज्राचार्य, नली बज्राचार्य र सूर्य खड्काले, सूचना प्रविधिका बिषयमा राम सापकोटाले चालु आर्थिक बर्षमा आफ्ना कार्यक्रम र कार्यक्रम कार्यान्वयनको चुनौतीका बिषयमा धारणा राखेका थिए । त्यस्तै उत्प्रेरणा र पुनर्ताजगीका बिषयमा सृजु प्रधानले ध्यानकर्षण गराएका थिए ।
उनीहरुले कार्यालय एउटै ठाउँमा नभएपछि आइपर्ने प्रक्रियागत झन्झट, सेवाग्राहीको मनोविज्ञान, कर्मचारी स्वतःस्फूर्त चलायमान हुने अवस्था, कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध, बिकास साझेदारसँगको समन्वयजस्ता बिषयमा सुधार गर्नुपर्ने अवस्था देखाएका थिए । त्यस्तै काममा आधारमा कर्मचारीलाई सुबिधा दिनुपर्ने, वृत्ति बिकास र क्षमता विकासका कार्यक्रम हुनुपर्ने, सहरी सुरक्षा, बिपद व्यवस्थापन, पूर्वाधार निर्माणमा सरोकारवाला कार्यालयले महानगरलाई सूचना नदिने परिपाटीको अन्त्य हुनुपर्ने जस्ता विषयलाई मागका रुपमा उठाएका थिए ।
माग र प्रश्न सुनिसकेपछि प्रमुख प्रशासकीय अधिकृत अर्यालले कर्मचारीबाट आएका प्रश्नलाई आफूले कामप्रतिको जिम्मेवारीका रुपमा बुझेको प्रतिक्रिया दिए भने कर्मचारीलाई दिइने सुबिधाका बिगत मापदण्ड पुनरावलोकन गरिने बताए ।
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्याल र प्रशासन विभागका प्रमुख ढकालसहित अधिकारीहरुले बिभागको कार्य प्रणालीको अवलोकन पनि गरेका थिए । यस क्रममा कर्मचारीले विभागहरु छरिएकाले कार्यसम्पादनमा समस्या भएको बताएपछि महानगरले आफ्नो केन्द्रीय भवन चाँडै बनाउने त्यस अवधिसम्म सबै संरचनालाई एउटै परिसरमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका थिए ।