
युरोपेली देशहरूले गरेको प्रदूषण त्यहाँबाट हजारौं किलोमिटर पर रहेको पर्वत शृंखलाको वातावरणीय स्वास्थ्यमा हानि पुर्याइरहेको छ ।
भारतस्थित वाडिया इन्स्टिच्युट अफ हिमालय जियोलोजीले गरेको अनुसन्धान अनुसार, विश्व तापक्रम वृद्धिका कारण हिमालयमा सेप्टेम्बर महिनादेखि डिसेम्बर महिनासम्म हुने हिमपात अहिले जनवरीबाट मध्य मार्चसम्म पुगेको छ ।
यसले गर्दा जनवरीदेखि मध्य मार्चसम्म परेको हिउँ अप्रिल र मे महिनामा गर्मी लाग्नेबित्तिकै पग्लिने गरेको छ ।
भारतको उत्तराखण्ड, जम्मु कश्मीर, हिमाचल, सिक्किम र अरुणाचल प्रदेशमा हिमरेखा लगभग ४० देखि ५० मिटर पछि पुगेको अनुसन्धानले देखाएको छ । अनेकौं वनस्पति र स्याउका प्रजातिहरू लोप हुने स्थितिमा पुगेका छन् ।
वैज्ञानिकहरू अब यस विषयलाई अन्तर्राष्ट्रिय स्तरमा विरोध गर्ने तयारी गरिरहेका छन् ।
हिमपातको महिना शिफ्ट हुँदा खसेको हिउँ ठोस बन्ने अवसर नपाउने किनकि मार्चपछि गर्मी लाग्न थाल्ने हुन्छ । हिमरेखा पछि सर्नुको मुख्य कारण पनि यही हो ।
वरिष्ठ वैज्ञानिक डा पीएस नेगी अहिले हिमालयमा दुई किसिमका प्रदूषण, बायोमास प्रदूषण र तत्त्वमा आधारित प्रदूषण, भइरहेको बताउँछन् । यी दुवैथरी प्रदूषणले ब्ल्याक कार्बन बनाउने जसले गर्दा १५ हजारवटा ग्लेसियरहरू पग्लिरहेको उनको भनाइ छ ।
वाडिया इन्स्टिच्युटका वैज्ञानिक डा नेगीका अनुसार, युरोपबाट जनवरीमा आएको पश्चिमी विक्षोभ वर्षाले विषालु ग्यास पनि ल्याउँछ । त्यसैले ग्लेसियरमा ब्ल्याक कार्बनको स्तर बढाउँछ ।