काठमाडौं, १९ वैशाख– आसन्न स्थानीय निर्वाचनको पहिलो चरण (३१ वैशाख) अन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन हो ।
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा आज उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै छन् ।
२८३ स्थानीय तहमा नै निर्वाचन हुने भए पनि प्रमुख ठूला दलहरुले महानगरपालिकाका उम्मेदवारहरु टुंग्याउन सकेका छैनन् ।
नेकपा माओवादी केन्द्रले भने देशका चारवटा महानगरपालिकाका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादीले काठमाडौं महानगरपालिकाको मेयरमा सर्वोत्तममान डंगोल र उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ ।
यस्तै ललितपुर महानगरपालिकाको मेयरमा दिनेश महर्जन र उपमेयरमा मन्जरी शाक्य ‘आस्था’लाई अगाडि सारिएको माओवादीले जनाएको छ ।
माओवादीको तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छन् भने सुरेन्द्र गुरुङ उपमेयरका उम्मेदवार छन् ।
क्षेत्रफलको हिसावले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा माओवादीले विश्वप्रकाश लामिछानेलाई अगाडि सारेको छ भने उपमेयरका लागि गोमा ढकालले टिकट पाएकी छन् ।