काठमाडौं, ८ पुस – उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की–मून दक्षिण कोरियाको राष्ट्रपति बन्ने महत्वाकांक्षा राखेकोमा व्यंग्य गरेको छ । बान ‘मान्छेको मुखौटा लगाएको छेपारो’ भएको र उनले ‘पूरा नहुने सपना’ देखेको उत्तर कोरियाले बतायो ।

उत्तर कोरियाको राज्यद्वारा सञ्चालित वेबसाइट उरीमिनजोक्किरीले बानको राष्ट्रपतीय महत्वाकांक्षा बेतुकको भएको लेखेको छ । संयुक्त राष्ट्रसंघको प्रमुखका रूपमा बानले ‘आलोचना र लज्जा’ जन्माउने काम गरेको लेखिएको छ ।
दक्षिण कोरियाको आन्तरिक राजनीतिमा बानको छवि खराब रहेको लेखिएको छ । जता हावा बग्यो त्यतै जाने अनि परिस्थिति अनुसार रंग बदल्ने अवसरवादी भएका कारण उनको छवि नराम्रो रहेको आरोप लगाइएको हो ।
पुस १६ गते संयुक्त राष्ट्रसंघको महासचिव पदबाट हट्ने बानले दुई कार्यकाल चलाएका थिए । उनले औपचारिक रूपमै दक्षिण कोरियाको राष्ट्रपति हुने महत्वाकांक्षाको घोषणा गरेका छैनन् तर त्यसमा रुचि भएको चाहिँ देखाएका छन् ।
केही दिनअघि न्युयोर्कमा दक्षिण कोरियाका पत्रकारहरूसँग कुरा गर्दै बानले दक्षिण कोरियाका लागि आफ्नो शरीर जलाउन पनि तयार रहेको बताएका थिए । राष्ट्रपति बन्ने चाहनाको यो बलियो संकेत हो ।
आगामी केही महिनामा दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन हुने सम्भावनाका बीच बानमाथि धेरैको ध्यान खिँचिएको छ ।
दक्षिण कोरियाकी राष्ट्रति पार्क गेउन–ह्येका विरुद्ध महाभियोग प्रस्ताव पारित भएकाले उनी औपचारिक रूपमा पदमुक्त भएको ६० दिनमा नयाँ निर्वाचन गर्नुपर्ने हुन्छ ।
एसोसिएटेड प्रेस