
प्रदेश २ स्थित वीरगञ्ज महानगरपालिका कोरोनाभाइरस (कोभिड– १९) को नयाँ इपिसेन्टर बनेको छ ।
सरकारले लकडाउन खुलाउनुअघि अर्थात् असार ७ गतेसम्म वीरगञ्जमा जम्मा १ सय ५२ जनामा कोरोनाको संक्रमण देखिएको थियो ।
तर लकडाउन खुलेपछिको ५ दिनमा थप १ सय जनामा कोरोना संक्रमण देखिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार हिजो मात्रै १७ जना र शनिवार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका अधिकांश लुकिछिपी भारतमा सामान किन्न गएका र भारतबाट फर्किएकाहरू छन् ।
उनीहरूका कारण समुदायमै संक्रमण फैलिएको छ ।
अहिले कोरोनाका बिरामी राख्नका लागि महानगरपालिकाको भवनमा ७० बेडको कोरोना अस्पताल तयार पारिएको छ, तर ती सबै बेड भरिभराउ छन् ।
लक्षण देखिएका बिरामीहरूलाई जिल्ला अस्पतालमा राखिएको छ । अन्य कतिपय संक्रमितलाई घरमै आइसोलेसन बनाएर राखिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
भारतबाट फर्किएका र शंकास्पद व्यक्तिहरूलाई राख्न वीरगञ्जको सिद्धार्थ स्कूलमा २ सय १० बेडको क्वारेन्टीन सेन्टर स्थापना भएको छ ।
लकडाउन खुल्नेबित्तिकै कोरोना अनियन्त्रित बन्न थालेपछि जिल्ला सुरक्षा समिति पर्साले अर्को सूचना नआउञ्जेलसम्मका लागि साउन १० देखि वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।
भारतसँगको सिमा जोडिएकाले भारतमा रोजगारीका लागि गएका नेपालीहरू फर्किने र किनमेलका लागि भारततर्फ जाने मानिसहरूले गर्दा कोरोना संक्रमण समुदायमै देखिन थालेको मेयर सरावगीले बताए ।

‘भारतसँग सीमा जोडिएकाले कोरोना संक्रमण बढेको देखिएको छ,’ सरावगीले लोकान्तरसँग भने, ‘भारतबाट नेपालमा आउने र भारतमा किनमेलका लागि लुकीछिपी जाने गर्दा संक्रमण फैलियो ।’
भारतबाट नेपालमा हुने तस्करीले गर्दा पनि जोखिम बढेको छ ।
भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै तस्करहरू लुकिछिपी नेपाल आउने गरेकाले संक्रमण बढेको मेयर सरावगीले बताए ।
वीरगञ्जको मुख्य बजार क्षेत्र पूर्ण रूपमा बन्द भएको छ ।
वीरगञ्जका भित्री बजार तरकारी र दैनिक उपभोग्य वस्तु किन्नका लागि बिहान १ घण्टाका लागि खुलेका छन् ।
२० दिनमा ५० हजारको कोरोना टेष्ट
वीरगञ्ज महानगरपालिकाले २० दिनमा ५० हजार जनाको पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट कोरोना परीक्षण गर्न लागेको छ ।
महानगरपालिकाको आफ्नै स्रोत र साधनबाट प्रत्येक घरका १ जनाका दरले स्वाब संकलन गरेर पीसीआर टेष्ट गर्न लागेको मेयर सरावगीले बताए ।
‘हामीले आफ्नै स्रोत र साधनबाट २० दिनभित्र ५० हजार जनाको पीसीआर विधिबाट कोरोना टेष्ट गर्न लागेका छौं,’ मेयरले सरावगीले भने, ‘प्रत्येक घरका एक/एक जनाको कोरोना परीक्षण हिजो (आइतवार) देखि गर्न लागेका छौं ।’
महानगरपालिकाले आफ्नै खर्चमा ७२ च्यानलको पीसीआर मेसिन खरिद गरेर हिजो (साउन ११ गते) देखि कोरोना परीक्षण गरिरहेको छ ।
दैनिक १ हजार जनादेखि १५ सय जनाको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
यसअघि केन्द्र सरकारले ३० च्यानलको पीसीआर टेष्ट मेसिन महानगरपालिकालाई दिएको थियो ।
थप स्वास्थ्यकर्मीलाई तालिम
कोरोनाको संक्रमण फैलिएपछि स्वाब संकलनका लागि थप स्वास्थ्यकर्मीलाई तालिम दिएको मेयर सरावगीले बताए ।
‘हामीले छिटो–छिटो स्वाब संकलन गरेर परीक्षण गर्न सकियोस् भनेर आफ्नै पहल र लगानीमा थप स्वास्थ्यकर्मीलाई स्वाब संकलनका तालिम दिएर परिचालन गरेका छौं,’ मेयर सरावगीले लोकान्तरसँग भने ।
खुला सीमाका कारण कोरोना संक्रमण फैलियो
साउन ७ गतेदेखि सरकारले लकडाउन खुलाएको केही दिनमै वीरगञ्जमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आइलाग्यो ।
भारतमा फैलिरहेको कोरोना संक्रमणले गर्दा सीमा नाकामा असर परेको मेयर सरावगीको भनाइ छ ।
‘पारिको खुल्ला सीमा नाकाले गर्दा हामीलाई असर परेको छ, लकडाउन खुलेपछि सबै खुलेजस्तै भयो, नियन्त्रण गर्न पनि अप्ठ्यारो पर्यो,’ मेयर सरावगीले भने ।
भारतीय सीमा नाकामा पनि सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ ।