
केन्द्रीय कमिटी बैठक बोलाउन नेकपामा हस्ताक्षर तयारी अवस्थामा
स्थायी कमिटी बैठकले निकास दिन नसकेको भन्दै नेकपाका एक चौथाइ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन भन्दै हस्ताक्षर संकलन गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक चौथाइ सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केन्द्रीय कमिटी बोलाउन आवश्यक एक चौथाइ सदस्यले हस्ताक्षर गरेको जानकारी दिइन् । ‘स्थायी कमिटी बैठकले निकास दिन सकेन भने केन्द्रीय कमिटी बोलाएर निकास खोजौं भन्नका लागि हस्ताक्षर संकलन भएको हो,’ झाक्रीले लोकान्तरसँग भनिन् ।
केन्द्रीय सदस्य डा. विजय पौडेल, ठाकुर गैरे, जगन्नाथ खतिवडा, झाँक्री लगायतले स्थायी कमिटीमार्फत निकास खोज्न भन्दै पार्टी कार्यालयमा धर्ना समेत दिएका थिए ।
‘केन्द्रीय कमिटी बोलाउन आवश्यक एक चौथाइ हस्ताक्षर संकलन गरेका छौं, तर शक्ति देखाउन नखोजेकोले आवश्यकताभन्दा धेरैले हस्ताक्षर गरेका छैनौ,’ एक केन्द्रीय सदस्यले भने ।
नेकपामा हाल ४ सय ४४ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटी बैठक बोलाउन एक चौथाइ अर्थात १ सय १२ जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ ।
स्थायी कमिटी बैठकले निकास दिन नसकेपछि केन्द्रीय सदस्यहरुले जुम बैठक गरेर केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने निर्णय गरेका थिए ।
‘केन्द्रीय कमिटी बोलाउनुपर्ने कारण र आवश्यक संख्यासहित हस्ताक्षर तयारी अवस्थामा छ, भोलिको स्थायी कमिटी बैठकले निकास दिन सकेन भने अध्यक्ष र महासचिवलाई हस्ताक्षर बुझाएर बैठक माग गछौं,’ अर्का एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
एक चौथाइ सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेमा एक महिनाभित्र बैठक बोलाउनु पर्ने नेकपा विधानको व्यवस्था छ । हस्ताक्षरकर्ता सदस्यहरुले विधानको व्यवस्था अनुसार ६ महिनामा नियमित केन्द्रीय समिति बोलाउनु पर्ने बताएका छन् । पार्टी एकता भएको दिनपछि गत माघ महिनामा केन्द्रीय कमिटी बैठक बसेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सहमति जुट्न नसक्दा असार १० गतेबाट शुरू भएको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ । असार १८ गतेदेखि स्थगित बैठक साउन ६ गते केहीबेर बसेर भोलि साउन १३ गतेसम्मको लागि स्थगित भएको छ ।
साउन ६ गते बैठक स्थगित भएपछि ओली र प्रचण्डबीच एक पटक मात्र छलफल भएको छ । साउन ९ गते ओलीसँगको छलफलमा कुनै सहमति जुटन नसकेपछि प्रचण्डले सोही दिन पार्टी समस्यामा रहेको बताएका थिए ।
कोरोनाका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो
कोरोनाभाइरस (कोभिड- १९)का कारण नेपालमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
पछिल्लोपटक थप ३ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी गरेको छ ।
पर्साको वीरगञ्जका एक भारतीय नागरिक, धनुषाको शहीद नगरका ३६ वर्षीय पुरुष र बाराको फेटाका ६० वर्षीय पुरुष गरी ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिड- १९ संक्रमितको कुल संख्या भने १८ हजार ७५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।