
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बैठक शुरू भएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
बैठकको शुरूमा प्रचण्ड बोलिरहेका छन् । बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू सहभागी छन् ।
स्थायी कमिटी बैठकअघि प्रचण्ड र झलनाथ खनालले ओलीसँग वार्ता गरेका थिए ।
अध्यक्ष ओलीले एकतर्फी रूपमा बैठक स्थगित गरेको भन्दै प्रचण्ड नेपाल समूहका नेताहरू बालुवाटारमा भेला भएका थिए ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला उपाध्यक्ष वामदेव गौतमले मंगलवार सहमतिका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् ।
प्रतिनिधि सभाको कार्यकालभरी ओली नै प्रधानमन्त्री रहने, एकता महाधिवेशन नहुञ्जेल ओली अध्यक्ष पनि कायम रहने र महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अधिकार दिनुपर्ने लगायत प्रस्ताव वामदेवले गरेका छन् ।
दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।
प्रचण्ड–नेपाल समूहले मंगलवारको बैठक नरोक्ने गरी बुधवार सहमति गरेका थिए ।