
रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा २ जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ लोध र उनका सहयोगी (मोतियार) महेन्द्र यादवलाई सिद्धार्थनगर–५ स्थित सेञ्चुरी बैंकबाट रङ्गेहात पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
भुसालका अनुसार सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरूलाई घुस रकमसहित पक्राउ गरिएको हो । सेवाग्राहीसँग घुस लेनदेन गर्न कार्यालय सहयोगी र उनका सहयोगी यादवद्वय सेञ्चुरी बैंक पुगेका थिए । लगत्तै कारोबार हुन लाग्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
निर्माण भइरहेको विमानस्थलमा अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ । विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।
विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो पटक–पटक आउने गरेको थियो । पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए ।