
इरानले आफ्ना क्षेप्यास्त्रहरूको परीक्षणका सिलसिलामा अमेरिकी युद्धपोतको डमीलाई ध्वस्त पारेको छ ।
रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा यो सैन्य अभ्यास तथा परीक्षण गरिएको हो ।
सैन्य अभ्यासका क्रममा आगोको भयंकर लप्का उठेपछि अमेरिकी सैनिकहरूले आफ्ना दुई क्षेत्रीय अड्डालाई सतर्क समेत गराए ।
अमेरिकी जलसेनाले इरानको सैन्य अभ्यासका लागि गैरजिम्मेवार र लापरवाहीपूर्ण बतायो ।
इरानले अमेरिकालाई उक्साउनका लागि यस्तो काम गरेको अमेरिकी जलसेनाको भनाइ छ ।
खाडी क्षेत्रमा तेहरान र वाशिङटनबीचको तनाव बढिरहेको बेलामा यो अभ्यास गरिएको हो ।
इरानको सरकारी टेलिभिजनका अनुसार यस अभ्यासको नाम पैगम्बर मोहम्मद १४ राखिएको थियो ।
खाडीमा अमेरिकाले तैनाथ गरेको अमेरिकी युद्धपोत जस्तै देखिने डमीलाई इरानले फरक फरक कोणबाट क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त बनाएको हो ।
युद्धपोतमा हेलिकप्टरबाट पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डर मेजर जनरल हुसेन सालामीले भने, ‘यस अभ्यासमा हाम्रो वायुसेना र जलसेनाको आक्रामकता देख्न पाइयो ।’
अमेरिकी सेनाका अनुुसार, यस अभ्यासमा ब्यालिस्टिक क्षेप्यास्त्रबाट फाइरिङ गरिएको थियो जसकारण संयुक्त अरब अमिरात र कतारमा अमेरिकी युनिटलाई सतर्क गराइएको थियो ।