
अमेरिकाले चीनसँगको तनाव चर्काउनुमा चीनको प्रतिस्पर्धात्मक फाइदालाई कमजोर बनाउने, विश्वमा उसको प्रभावलाई विस्तार गर्न नदिने, व्यापार सम्झौतामा छुट गराउने तथा राष्ट्रपति निर्वाचनमा चुनौती घटाउने उद्देश्यहरू निहित रहेको विज्ञहरूले बताएका छन् ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले चीनलाई हावी हुन नदिन अन्तर्राष्ट्रिय गठबन्धन बनाउन आह्वान गरेका छन् । उनले साझेदारहरूलाई थप सिर्जनात्मक तथा दरिलो उपाय अपनाएर चीनलाई आफ्नो नीति परिवर्तनका लागि बाध्य बनाउनुपर्ने बताए ।
साथसाथै उनले चीनको राजनीतिक तथा सैन्य शक्ति बढिरहेको कुरालाई पनि स्वीकार गरे । स्वतन्त्र विश्वले चीनप्रतिको धारणा परिवर्तन नगरेमा चीनले विश्वलाई परिवर्तन गर्ने उनको भनाइ छ । चीनको सशस्त्र बल बलियो र थप सशक्त बनेको उनले बताए ।
चीनको रेनमिन विश्वविद्यालयमा इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका प्राध्यापक शी यिनहोङले चीनमाथि दबाब दिने नयाँ प्रयासका रूपमा पोम्पेओको भनाइ आएको बताए ।
‘निर्वाचन आउनै लाग्दा ट्रम्प प्रशासनले चीनप्रतिको दृष्टिकोणलाई राजनीतिक रूपमा लिइरहेको छ । भविष्यलाई लक्षित गरी यो रणनीति बनाइएको छ र देशको राजनीतिक धारको चुरो पनि यही हो । चीनसँगको भिडन्तको अवधारणाले ट्रम्पलाई आगामी चुनावमा फाइदा दिन्छ । चीनलाई थप विकास र वृद्धि गर्न नदिनका लागि प्रतिबन्ध र बाध्यात्मक उपाय अपनाएर अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व कायम गराइरहन खोजेको हो ।’
तर चीनले अमेरिकी दबाबका अगाडि नझुक्ने अलेक्सेई बिर्युकोभले बताए । उनी मस्कोस्थित एमजीआईएमओ विश्वविद्यालयमा वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत छन् ।
बिर्युकोभका अनुसार, अमेरिकीहरू चिनियाँको राष्ट्रिय मनोविज्ञान, चिनियाँ रणनीति वा चीनका प्राथमिकतालाई बुझ्दैनन् । उनीहरू अल्पदृष्टि तथा कूटनीतिक घमण्डका कारण चीनप्रति यस्तो व्यवहार देखाइरहेका छन् ।’
ट्रम्प आफूलाई चीनविरुद्धको लडाइँका नायकका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् र निर्वाचनमा व्यक्तिगत लाभका लागि प्रयास गरिरहेका छन् । यी दुवै कुरा अमेरिका र चीनका जनताको हितविपरीत रहेको चीनको कम्युनिकेसन्स विश्वविद्यालयमा रिसर्च इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका प्राध्यापक याङ मियानले बताए ।
‘अमेरिकाले विभिन्न किसिमका उपायहरू अपनाइरहेको छ र चिनियाँहरूलाई रोक्नका लागि केही बाधा अवरोध तेर्स्याएको छ । कोरोनाभाइरसको संक्रमण भयावह हुँदै गएको अनि देशमा जातीय अस्थिरता चर्किरहेको अवस्थामा ट्रम्प पुनर्निर्वाचित नहुन सक्छन् । त्यसैले उनी राष्ट्रिय समस्याबाट ध्यान हटाउनका लागि चीनविरुद्ध उक्साहटपूर्ण अभिव्यक्ति दिइरहेका छन्,’ याङ मियानले भने ।
चीनलाई दोषी देखाएर ट्रम्पले आफैंलाई जोगाउन खोजेको याङको भनाइ छ । अनि चीनसँगको मतभेदलाई चर्काएर उनले अमेरिकी राष्ट्रवादलाई पनि जगाउन कोेशिश गरिरहेका हुन् ।
‘अमेरिकाले चीनलाई सबै शर्त मान्न लगाउने किसिमको व्यापार सम्झौताका लागि बाध्य बनाउन खोजिरहेको छ । व्यापार सम्झौताको अन्त्यविन्दुमा नपुगिसकिएको अवस्थामा ट्रम्पले बेइजिङसँगको तनाव चर्काएका हुन् ।’
रुसका राजनीतिक विश्लेषक आन्द्रेई मानोइलोले व्यापारका शर्त लाद्नका लागि ट्रम्पले चीनमाथि दबाब बढाएको बताए । ट्रम्प जहिले पनि यसै गर्छन् । शुरूमा उनी परिस्थितिलाई चरममा पुर्याउँछन् अनि साझेदारलाई अफर दिन्छन् । उनीहरू भित्तोमा पुगेको अनुभव गर्छन् र आत्मसमर्पण गर्छन् ।
‘तर चीनलाई त्यो रणनीतिले काम गर्दैन । तैपनि ट्रम्पले अमेरिकीहरूलाई आफू बहादुर मानिस भएको र ठूला उपलब्धि हासिल गर्न समर्थ रहेको देखाउनुपर्नेछ । मतदाताहरूलाई सुरक्षित अनुभव गराउन सक्ने आफू नै भएको उनी अनुभव गराउन चाहन्छन्,’ मानोइलोले बताए ।
स्पुतनिक न्युजबाट