
चीनका राष्ट्रपति सी चिनफिङले चीनको आक्रामकताको प्रतिकार अन्य राष्ट्रले कत्तिको गर्न सक्छन् भनी पत्ता लगाउन खोजिरहेको अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले बताएका छन् ।
बिहीवार अमेरिकी संसद् कंग्रेसको हाउस फरेन अफेयर्स कमिटीका सदस्यहरूसँगको कुराकानीमा पोम्पेओले यो कुरा बताएका हुन् ।
चीनले आफ्नो शक्ति र दायरा विस्तार गर्न चाहेको उनले बताए ।
‘उनीहरू संसारमा चिनियाँ विशेषताको समाजवाद ल्याउने कुरा गर्दैछन् । उनीहरूले भुटानको भूभागमा गरेको दाबी अनि भारतमा गरेको अतिक्रमणबाट आफ्नो उद्देश्य स्पष्ट पारेका छन् । अहिले उनीहरू आफ्नो धम्की र हेपाहापनको विरुद्ध हामी उठ्न सक्छौं कि सक्दैनौं भन्ने कुराको परीक्षण गरिरहेका छन्,’ पोम्पेओले भने ।
‘संसार उनीहरूको प्रतिकार गर्न तयार छ भन्ने कुरामा म एक वर्ष अगाडिको भन्दा बढी आत्मविश्वासी छु । धेरै काम गर्न बाँकी छ र हामी यस विषयमा गम्भीर हुनुपर्छ,’ पोम्पेओले भने ।
‘हाम्रो कूटनीतिक प्रयासले काम गरिरहेको छ र चिनियाँ कम्युनिस्ट पार्टीले तेर्स्याएको जोखिमलाई घटाउन वातावरण पनि बन्दैछ । आसियानका सबै १० मुलुकले दक्षिण चीन सागरका विवादहरू अन्तर्राष्ट्रिय कानूनका
आधारमा समाधान गर्नुपर्ने बताइरहेका छन् । चीनले हङकङलाई लक्षित गरी ल्याएको राष्ट्रिय सुरक्षा कानूनको भर्त्सना गर्न जापानले जी–७ को नेतृत्व गरेको छ,’ उनले भने ।
‘हामीले क्वाडलाई पुनर्जागृत गरेका छौं । यसमा हामी कठोर मेहनत गर्दैछौं । भइरहेको प्रगतिका विषयमा मलाई गर्व लागेको छ । यस्ता बहुपक्षीय प्रयासका साथै डिपार्टमेन्ट अफ जस्टिसले चीनबाट हुने बौद्धिक सम्पत्ति चोरीको जोखिमलाई पनि कम गर्दैछ ।’