
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि संसदमा आवाज उठाउने बताएका छन्।
गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकुद विभागले शुक्रबार सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले खेलाडी देशको गहना र शान भएको उल्लेख गरे।
सभापति देउवाले कांग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।
खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उनले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गरे।
सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यवाद दिए।
खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उनले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिए।
काँग्रेस खेलकुद विभागले चार स्वर्ण जित्नेलाई २५ हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो।
सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार तथा दुई दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही १५ हजार प्राप्त गरे।
सागमा एकल र समूहगत रुपमा स्वर्ण जित्ने ८० खेलाडीलाई सम्मान गरिएको हो।
गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक प्राप्त जितेको थियो । नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो।