इरानको गुप्तचर मन्त्रालयले तोन्दर नामक समूहका प्रमुखलाई पक्राउ गरिएको जानकारी शनिवार दिएको छ ।
तोन्दर अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा रहकेो इरानी राजावादी समूह हो । यस समूहको उद्देश्य इरानमा इस्लामिक गणतन्त्रलाई फ्याँकेर राजतन्त्र पुनर्बहाली गर्नु हो ।
समूहका प्रमुख जमशिल शर्मदलाई पक्राउ गरिएको मन्त्रालयले घोषणा गरेको हो ।
निकै जटिल गुप्तचर कारवाहीपछि इरानी बलहरूले तोन्दर प्रमुखलाई पक्राउ गरेको र उनको पक्राउले उक्त संगठनलाई ठूलो धक्का दिएको इरानी सञ्चारमाध्यमले लेखेका छन् ।
उनलाई कहिले र कहाँ पक्राउ गरिएको भन्ने खुलाइएको छैन । पछि यसको थप जानकारी दिइने गुप्तचर मन्त्रालयले जनाएको छ ।
तोन्दरको अर्थ इरानको अधिराज्य भेला हो । सन् १९७९ मा भएको इस्लामिक क्रान्तिअघिको राजतन्त्रलाई पुनर्बहाली गर्ने लक्ष्य यसले लिएको छ ।
यस समूहले सन् २००८ मा इरानी शहर शिराजमा रहेको सैयद अल–शोहादा मस्जिदमा बम विस्फोट गराएको जिम्मेवारी लिएको छ । त्यसमा १४ जनाको मृत्यु भएको थियो र २०२ जना घाइते भएका थिए ।
सन २०१० मा इरानका आणविक वैज्ञानिक मसूद अलीमोहम्मदीलाई बम विस्फोट गरी हत्या गरेको आरोप पनि यस समूहमाथि छ ।
समूहले अन्य आतंकवादी आक्रमणको प्रयास गरेको भए पनि त्यसमा विफल रहेको बताइएको छ ।
तोन्दरका सदस्यलाई सुपुर्दगी गर्नका लागि इरानले अमेरिकालाई लगातार अनुरोध गरिरहेको छ । अमेरिकाले लस एन्जलसमा उक्त समूहलाई निर्बाध काम गर्न दिएको छ । त्यहाँ उक्त समूहले रेडियो तथा टेलिभिजन च्यानल चलाएर इरान सरकारलाई हिंस्रक ढंगले अपदस्थ गर्न आह्वान गर्ने गरेको छ ।