१० साउन २०८३, आइतबार

भ्रष्टाचारविरुद्धको नाराबाजीपछि उदयपुरको वेलका नगरपालिकामा झडप

भ्रष्टाचारविरुद्धको नाराबाजीपछि उदयपुरको वेलका नगरपालिकामा झडप

उदयपुरको वेलाका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले मेयरले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जाल फेसबूकमा लेखेपछि शुरू भएको तनावले आइतवार झडप निम्त्याएको छ ।

गत साउन ७ गते उनले फेसबूकमा 'उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु, कालो कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन, धिक्कार छ दुई तिहाइको सरकार' भन्दै स्ट्याटस लेखेकी थिइन् ।

उनले भ्रष्टाचार हुनुमा मेयर दोषी रहेको भन्दै त्यसपछि पनि बारम्बार मेयर दुर्गाकुमार थापालाई आरोपित गरिरहिन् । साउन ७ गते नै नगरपालिकाको नियमित बैठक बसेको थियो । बैठकमा उनले नगरपालिकामा कार्यरत सहायक कम्प्युटर अपरेटरलाई भ्रष्टाचार गरेको आरोप लगाइन र मेयरले ढाकछोप गरेको बताइन् ।

मेयरले छानबिनका लागि मोहन घिमिरे, देवेश्वरप्रसाद चौधरी र जयकुमार राई सहभागी एक समिति पनि गठन गरिसकिएको जानकारी दिए ।

'७ गते बैठकमा आवेशमा आएपछि उहाँले फेसबुक स्ट्याटस लेख्नुभयो,' मेयर थापाले लोकान्तरलाई भने, '९ गते फेरि अर्को बैठकमा आएर उहाँले आत्मालोचना गर्नुभयो । म आवेशमा आएर त्यस्तो लेखें भन्दै उहाँले आत्मालोचना गरिसकेपछि अन्य दलहरू आन्दोलनमा उत्रिए । भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने भनिरहेका छन् । समिति बनेको छ । भ्रष्टाचार भएकै हो भने पनि सहायक कम्प्युटर अधिकृतले के गर्यो होला र ? न कुनै निर्णय गर्न पाउने हो, न कहीं हस्ताक्षर ।'

आइतवार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरू उपमेयरकै कार्यकक्षमा ताला लगाउन आएका थिए । मेयर र उपमेयर दुवै नेकपाबाट निर्वाचित हुन् ।

मेयर थापाले भने, 'केही नेकपाकै कार्यकर्ताहरू पनि प्रदर्शनमा आएका रहेछन् । मैले उनीहरूलाई सम्झाएको छु । अहिले म बाहिर छु तर नगरपालिकाको कार्यालयमा हो-हल्ला भएको सुनेको छु ।'

थापाले यदि भ्रष्टाचार भएकै हो भने विधि र प्रक्रिया अन्तर्गत जसले भ्रष्टाचार गरेको हो उसलाई जेलसमेत लैजान आफू प्रतिबद्ध भएको बताए । यसबारेमा उपमेयर चौधरीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

salt training

कमेन्ट गर्नुहोस्