२६ असार २०८३, शुक्रबार

खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत, २५६ आयाेजना सम्पन्न

खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत, २५६ आयाेजना सम्पन्न

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष ०७६/०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ।
 
खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो। बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए।
 
समीक्षा बैठकमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी सहसचिव अरुण सिंखडाले गए। मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई १ लाख ९० हजार २ सय ९२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले बताए। त्यस्तै गत आर्थिक वर्षमा २ सय ४२ आयोजना सम्पन्न भई १ लाख ९४ हजार ४ सय २३ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको बताइएको छ।
 
खानेपानी तथा ढल व्यवस्थापन विभागको आव ०७६/७७ मा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी गराइयो। खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको जानकारी महानिर्देशक सुनिलकुमार दासले दिए।

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलब ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराइयो। मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ।
 
त्यस्तै गत आर्थिक वर्षको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा समेत गरी ६ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्र सम्मको सप्लाई पाईप तथा बाग्मती नदी सम्मको वास आउट पाईप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताए।

०७६÷७७ मा आयोजना कार्यान्वयन निर्देशनालय  (पिआईडी) ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको बैठकमा जानकारी दिइयो। त्यस्तै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको बताइयो।  
आर्थिक वर्ष २०७६÷०७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनाहरु मध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५ सय ३४ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजनाहरु सम्पन्न भई ५० हजार ५ सय ७० जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनाहरुमध्ये ४ वटा सम्पन्न भई करिब ६१ हजार ७ सय ४३ जनसंख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए।
त्यस्तै जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजना सम्पन्न भई ३१ हजार ४ सय ४५ जनसंख्या लाभान्वित भएको खानेपानी विभागको भनाई छ।
 
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ। नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको जानकारी गराइयो।
 
मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति अन्तर्गत गत आर्थिक वर्षमा २ सय ३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार ७ सय ४ जनसंख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताए।
 
 

salt training

कमेन्ट गर्नुहोस्