२३ असार २०८३, मंगलबार

मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु

साउन १९, २०७७
मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ ।

आइतबार साँझ ६ बजेदेखि सुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी नेपालीसमेत प्रत्यक्ष प्रभावित बनेका छन् ।

अस्ट्रेलियाका अन्य राज्यहरूमा भाइरस संक्रमण कम भइरहेको भए पनि भिक्टोरियामा करिब एक महिनादेखि पुनः ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । आइतबार पत्रकार सम्मेलनमा प्रिमियर ड्यानियल एन्ड्रिजले बढिरहेको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चस्तरको लकडाउन घोषणा गर्नुपरेको सुनाए ।

भिक्टोरियामा मात्र अहिलेसम्म ६ हजार ३ सय बढी सक्रिय संक्रमणका बिरामी रहेका छन् । ६ सय ७१ जनामा बितेको २४ घण्टामा संक्रमण पत्ता लागेको हो । यस राज्यमा मात्र अहिलेसम्म १ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ५ जना अस्पतालमा छन जसमध्ये ३ को आईसीयूमा उपचार भइरहेको छ ।

मेलबर्नमा एकाउन्टिङ व्यवसाय गर्दै आएका योगेन अधिकारीले सोमबारदेखि कार्यलय पूर्णतः बन्द हुने जनाए । उनी आफ्ना दर्जनौं ग्राहकको काम भए पनि लकडाउनका कारण कार्यालय जान नपाएपछि आफ्नो व्यवसाय प्रभावित हुने सुनाउँछन् । ‘सरकारले जे गरिरहेको छ त्यो सबै सर्वसाधारणको सुरक्षाका लागि भएकाले समेत हामीले सरकारको निर्णयलाई पालना गरेर सहयोग गर्नु आवश्यक छ,’ उनीहरू भन्छन् ।

मेलबर्नका स्थानीय बासिन्दा प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल सरकारले यो निर्णयले यहाँ रहेका अनुमानित ५० हजार बढी नेपाली प्रत्यक्ष प्रभावित हुने सुनाउँछन् ।

‘हामी सरकारले प्रदान गर्ने जबसिकरलगायतका सुविधा पाउन सक्ने नागरिकलाई केही नहोला तर विद्यार्थीलाई यसले धेरै असर पार्ने पक्का छ,’ उनले कान्तिपुरसँग भने । भिक्टोरियामा अहिलेसम्म करिब ३ दर्जन नेपालीमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष कँडेल यो संख्या अझ धेरै हुन सक्ने बताउँछन् । कान्तिपुर दैनिकमा  नारायण खड्काले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्