काठमाडौं, २० बैशाख– स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीमा विवाद उब्जिएको छ । पार्टीको लाइनबिपरित गुटगत राजनीतिमा लागेको भन्दै माओवादीको ललितपुर जिल्ला कमिटीले सांसद तथा जिल्ला सचिवालय सदस्य योगेन्द्र घिसिङलाई कारबाही गरेको छ ।
ललितपुरका विभिन्न गाउँपालिकामा स्वतन्त्र उम्मेदवार खडा गरेको भन्दै ललितपुर माओवादीले सांसद घिसिङलाई कारबाहीको घोषणा गरेको हो ।
जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले घिसिङले पार्टी हित र लाइनविपरित उम्मेदवार खडा गरेकाले कारबाही गर्ने निर्णय गरेको जनाइएको छ ।
माओवादीका ललितपुर जिल्ला जिल्ला इञ्चार्ज हरि दाहालका अनुसार घिसिङलाई पार्टीको कुनै तह र भूमिकामा नरहने गरी अनिश्चतकालको लागि कारबाही गर्ने निर्णय गरिएको हो ।
ललितपुरका माओवादी नेताहरुका मंगलबार स्थानीय तह निर्वाचनको लागि भएको उम्मेदवारी दर्ताका क्रममा घिसिङले आफू निकटकाले टिकट नपाएको भन्दै स्वतन्त्र प्यानलबाट ललितपुरका विभिन्न गाउँपालिकामा उम्मेदवार खडा गरेका छन् ।