
बेलारुसको राजधानी मिन्स्कमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षाकर्मीतर्फ बम फ्याँक्दै गर्दा एक प्रदर्शनकारी विस्फोटमा परी मारिएका छन् ।
त्यहाँ राष्ट्रपति निर्वाचनको परिणामका विरुद्ध व्यापक जनप्रदर्शन भइरहेका छन् ।
बेलारुसको गृह मन्त्रालयले मिन्स्कमा सोमवार राति उक्त व्यक्तिको मृत्युको पुष्टि गरेको छ ।
‘
एकजना विरोधकर्ताले कानून कार्यान्वयन अधिकारीलाई ताकेर विस्फोटक पदार्थ फ्याँक्न खोजेका थिए । त्यो पदार्थ उनकै हातमा पड्कियो र ज्यानै जाने गरी चोटपटक लाग्यो,’ मन्त्रालयका प्रवक्ताले बताए ।
विरोधकर्ताहरूले प्रिटाइट्स्की एभेन्युमा पेट्रोल बम प्रहरीलाई ताकेर हानेको बताइएको छ । सोमवार राति ड्रोन क्यामराले खिचेको भिडियोमा ठूलो भिडले पुश्किनस्काया मेट्रो स्टेसन नजिकको चोक घेरेको देखिएको छ ।
प्रहरीले उनीहरूलाई तितरबितर पार्न फ्ल्याश ब्याङ ग्रिनेड उपयोग गरेका छन् ।
एउटा बसमा आगजनी समेत गरिएको थियो ।
विपक्षी दलका कार्यकर्ताले राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम स्वीकार गर्न मानिरहेका छैनन् । बहालवाला राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले लगभग ८० प्रतिशत मत पाएको र प्रमुख प्रतिद्वन्द्वी स्वेत्लाना तिखानोभ्सकायालाई हराएका छन् ।
तर निर्वाचनमा गडबडी गरिएको भन्दै विपक्षीहरूले परिणाम अस्वीकार्य रहेको बताउँदै आएका छन् ।