
काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन् । कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको आज उद्घाटन भएसँगै उनीहरुले यस्तो सेवा प्राप्त गर्ने भएका हुन् ।
उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
उक्त अस्पताललाई हस्तान्तरण गरिएको सो मेसिन काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले अनुदान स्वरुप दिएको थियो । सोही मेसिनसहित पीसीआर ल्याबको आज मन्त्री ढकाल र मेयर शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै मन्त्री ढकालले प्रसूति सेवाका लागि विशिष्ठ योगदान दिदैँ आएको उक्त अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले गरेको सहयोग पनि प्रशंशा गरे।
प्रमुख शाक्यले विगतका दिनमा पनि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराए। उनले महानगरपालिकासँग स्वास्थ्यका क्षेत्रमा प्रयाप्त पूर्वाधार र जनशक्ति नभएकाले पूर्वाधारसहितका अस्पताललाई कोभिड–१९ को परिक्षणका लागि अत्यावश्यक सामग्री सहयोग गर्दै आएको जानकारी दिए ।
‘आर्थिक बर्ष २०७७–०७८ को बजेटमा पनि कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण लगायतका विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ,’ शाक्यले भने।’ उनले काठमाडौँ महानगर पालिकाले नेपाली सेनाको सहकार्यमा बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा सुरु गरिसकेको गरेको जानकारी पनि दिए।
‘महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरी कोभिड–१९ लाई लक्षित गरी प्राथमिक र आकस्मिक सेवासहितको सेवा दिइरहेका छौँ,’ शाक्यले भन्नुभयो, ‘महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता गरिसकेको छ भने कान्तिवाल अस्पतालसँग पनि सम्झौता गरेका छौँ ।’
शाक्यले आगामी दिनमा थप समन्वय गरेर स्वास्थ्यका क्षेत्रमा हातेमालो गर्दै अघि बढ्न चाहेको बताए।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली उपनिर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर ल्याबको उद्घाटन गरेको भन्दै अब छिट्टै सेवा सुरु गर्ने जानकारी दिए।
‘आब ल्याबको उद्घाटन भयो । अब यसको प्रक्रिया पूरा गरेर एक हप्ता भित्रैबाट सेवा सुरु गर्ने तयारी थालेका छौँ,’ अधिकारीले भने, ‘काठमाडौँ महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेर निकै ठूलो गुण लगाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगर परिवारसँग हामी हर्षित छौँ । हामी यसको उचित सदुयोग गर्दै सेवा प्रदान गर्नेछौँ ।’
उनले यस अघिसम्म अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको कोभिड परिक्षणका लागि अन्तै पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता हट्ने बताउनुभयो । ‘हामीले सेवा सुरु गरेपछि सरकारी मापदण्डको परिधी भित्र रहेर अस्पताल बाहिरका मानिसको पनि परिक्षण गर्ने सोच बनाएका छौँ,’ उनले भने, ‘सुत्केरी महिला, बच्चा र पाठेघरलगायतको अप्रेसनका लागि यहाँ आउनु भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिन्छौँ ।’ उहाँले ल्याबको क्षमता हेरेर दैनिक करीब २० बाट सुरु गरी २ सय सम्मको पीसीआर परिक्षण गर्ने लक्ष्य लिएको जानकारी दिए।
महानगरपालिकाले प्रसुतीलाई पीसीआर मेसिन एक थानसहित, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरेको थियो ।
प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । त्यसैगरी काठमाडौँ महानगरपालिकाले वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरेको थियो । वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री मध्ये उक्त सामाग्री काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई अस्पताललाई यहि साउन ४ गते हस्तान्तरण गरेको थियो ।
काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलका अनुसार ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको थियो । यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेब सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) २ हजार छ सय थान रहेका छन् । अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।