काठमाडौँ, २१ वैशाख - प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले योग्य उम्मेदवारलाई ‘भोट दिन तर नोट नलिन’ आग्रह गरेका छन् । “मतदातालाई प्रभावमा पार्न कुनै उम्मेदवारले नोट पनि दिन सक्छन् तर नोट नलिनुहोला”, उनले मतदातासँग अनुरोध गरे ।

‘बहिरा नागरिकका लागि स्थानीय निर्वाचन’सम्बन्धी बुधबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनले मनोनयनपछि उम्मेदवार निकै उत्साहपूर्वक र खुसियालीसहित आफ्नो दलको झन्डा र चुनावचिह्नमा निर्वाचन प्रचारप्रसारमा लागेको जानकारी दिए । उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको छ भन्दै सामाजिक र सांस्कृतिक रूपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारका क्रममा एकअर्कामा होच्याउने र अवहेलना गर्न कार्य नगर्न उम्मेदवारहरूसँग अनुरोध गरे, गोरखापत्रमा खबर छ ।