१६ असार २०८३, मंगलबार

राजधानीमै संक्रमित मृतकका आफन्तको गुनासो : ‘भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि !’

साउन २८, २०७७
राजधानीमै संक्रमित मृतकका आफन्तको गुनासो : ‘भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि !’

कोरोना संक्रमणबाट सोमवार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की एक महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ ।

समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् ।

५० वर्षीया ती महिलालाई साउन १८ गते पेट पोल्ने, ज्वरो आउने समस्या शुरू भएको थियो । साउन १९ गते जनैपूर्णिमाका दिन परिवारका साथ घरमै बंगुरको मासु र रक्सी खाएकी थिइन् ।

‘ज्वरो नघटेपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवायौं,’ मृतकका जेठा छोराले टेलिफोनमा भने, ‘आँखा पनि पहेंलो भएपछि जन्डिस भएको आशंका गरेका थियौं ।’

घरबाट स्थानीय बसमा पाँचखाल झरेका उनीहरूले शुरूमा प्राथमिक स्वास्थ्य केन्द्रमा देखाएका थिए । त्यहाँ उपचार हुन नसक्ने भन्दै धुलिखेल अस्पताल रेफर गरियो ।

‘तर दिदीले भक्तपुर ल्याउनु भनेकोले त्यहाँबाट हिँड्यौं,’ उनले भने, ‘पाँचखालमा चढेको गाडीले धुलिखेलसम्म ल्यायो । साँगासम्म अर्को गाडीमा आएर साझा बस चढेर भक्तपुर दिदीकोमा गएर बस्यौं ।’

साउन २४ गते उनलाई भक्तपुर अस्पताल पुर्‍याइयो । अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि उनीहरू बस चढेरै केएमसी अस्पताल सिनामंगल पुगेका थिए । ‘केमएसीको इमर्जेन्सीमा १ घण्टा जति रह्यौं, त्यहाँ महंगो भएकोले कुनै अरू अस्पताल जान सुझाव पाएपछि हामी पाटन अस्पताल गयौं,’ मृतकका छोराले भने, ‘पाटन अस्पतालले करीब ४ घण्टा प्रयास गर्दा पनि भेन्टिलेटर खाली नभएपछि किस्ट अस्पतालमा सम्पर्क गरेर त्यहाँ भर्ना गर्‍यौं ।’

अस्पतालले बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको भन्दै जोखिम मोल्न चाहे मात्रै उपचार गर्ने बताएको थियो । मृतकका अर्का छोराले भने, ‘सास रहुञ्जेल आश हुन्छ भनेर उपचार थाल्न भन्यौं तर सोमवार बिहान आमाको मृत्यु भयो ।’

उपचार शुरू गर्नुअघि अस्पतालले गरेको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव बुझेर अन्त्येष्टि गरेको थियो । मृतकका जेठा छोराले शुरूमा नै भेन्टिलेटरमा उपचार पाएको भए आमालाई बचाउन सकिन्थ्यो भन्ने आशा भएको बताउँछन् ।

‘समयमा नै भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि भन्ने थियो,’ उनले भने, ‘धेरै अस्पताल चहार्दाचहार्दै आमालाई कोरोना सर्‍यो कि भन्ने पनि लाग्छ ।’ मृतक महिलालाई निमोनिया र फोक्सोमा पानी भरिएको पाइएको अस्पतालले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्