बलिउड अभिनेता सञ्जय दत्तलाई चौथो चरणको फोक्सोको क्यान्सर लागेको छ । शनिवार सास फेर्न अप्ठ्यारो भएपछि उनलाई मुम्बईको लीलावती अस्पताल लगिएको थियो र सोमवार डिस्चार्ज गरिएको छ ।
अस्पताल भर्ना हुनेबित्तिकै उनलाई कोभिड–१९ को परीक्षण गरिएको थियो । उनमा कोरोनाभाइरस भने देखिएन । पछि उनको छातीमा तरल जमेको खबर आयो ।
डायग्नोसिस गर्दा उनलाई फोक्सोमा चौथो चरणको क्यान्सर देखियो । ‘उनलाई अस्पताल ल्याउँदा अक्सिजन स्याचुरेसन कम थियो । तर कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि उनको क्यान्सर विश्लेषण गर्दा पोजिटिभ आयो,’ अस्पतालको एक स्रोतले बतायो ।
उनलाई उपचार गरिरहेका चिकित्सक डा जलिल पार्करले निजताको हवाला दिँदै यसमा कुनै टिप्पणी गर्न मानेनन् ।
मंगलवार उनले प्रशंसकहरूको नाममा सन्देश दिँदै केही समयका लागि ब्रेक लिने बताए ।
क्यान्सरको उपचारका लागि उनी अमेरिका जाने बताइएको छ ।