
अघिल्लो साता भएको भयानक विस्फोटमा परी बेरुत ध्वस्त भएपछि अली हम्मूदले आफ्नो प्रिय शहर त्यागे । विमानको झ्यालबाट उनले भग्नावशेष बनेको बेरुत हेरे ।
बेरुतमा जन्मेर हुर्केका ३० वर्षीय आईटी इन्जिनीयर हम्मूदले अब दुबई जाने निर्णय लिएका छन् । बेरुत समृद्ध होला भन्ने आशालाई विस्फोटले चकनाचूर बनाएको उनी बताउँछन् ।
‘
यो सहज त छैन तर मैले बेरुत त्याग्नैपर्ने भएको थियो । मैले ज्यानभन्दा बढी माया गर्ने शहरलाई धोका दिएँ कि जस्तो लाग्दैछ तर त्यहाँ बस्दा मैले डिप्रेसन बाहेक केही पनि पाउने थिइनँ,’ हम्मूदले एएफपी समाचार संस्थालाई दुबईमा बताए ।
‘अब म व्यावसायिक करीयर शुरू गर्न, शान्तिपूर्वक बस्न र परिवारलाई पैसा पठाउन सक्छु,’ हम्मूदले भने ।
विस्फोटका कारण बेरुतमा १७० जनाभन्दा बढीले ज्यान गुमाए र लेबननको आर्थिक संकट झनै चुलियो ।
सुरक्षा र स्थिरताको खोजीमा रहेका अन्य लेबननी जस्तै हम्मूदले पनि दुबईमा रोजगारीका लागि निवेदन दिएका थिए ।
दशौं हजार लेबननी जस्तै उनी पनि दुबईमा काम गर्न आएका हुन् । बेरुत पहिला दुबई जस्तै सुन्दर भएको आमाबुवाबाट सुनेको उनी बताउँछन् ।
बेरुतको बन्दरगाहमा अम्मोनियम नाइट्रेटको विशाल भण्डार रहेकोमा विस्फोट हुँदा गहन इतिहास बोकेको बेरुत तहसनहस भएको छ ।
विस्फोट हुनुअघि नै लेबनन पतनको बाटोमा दौडिरहेको थियो ।
सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि पहिलोपटक देश भयंकर आर्थिक संकटमा परेको थियो । मुद्रास्फीति बढ्दै गएको थियो भने पूँजीमा नियन्त्रणका कारण गरीबी, चिन्ता र आक्रोशयुक्त सडक प्रदर्शन भइरहेका थिए ।
वर्षौंसम्म प्रणालीगत भ्रष्टाचार, नसुल्झिएका हत्याका घटना, छिमेकी इजरायलसँगको युद्ध, आधारभूत सेवाको अभाव लगायतका कारणले धेरैजना लेबननीहरू देशका सम्भ्रान्तहरूसँग आजित भइसकेका छन् ।
कुनै समयमा शैक्षिक र स्वास्थ्य संस्थाका लागि सुप्रसिद्ध बेरुतमा गृहयुद्ध हुनुअघिको पहिचान गुमिसकेको छ । शहरको जीवन्तता नै हराएको छ ।
चिकित्सक, इन्जिनीयर, शिक्षक र अन्य पेशाका लाखौं लेबननीहरू वर्षौंदेखि सुखद जीवनका लागि खाडीका मुलुकहरू तथा अन्यत्र गइरहेका छन् ।