पहिलो शीतयुद्धको बेलामा सोभियत संघले पश्चिमलाई तेर्स्याएको चुनौतीभन्दा चीनको जोखिम निकै खतरनाक रहेको अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले बताएका छन् ।
चेक गणतन्त्रको सिनेटलाई बुधवार सम्बोधन गर्ने क्रममा उनले यो बयान दिएका हुन् ।
‘अहिले जे भइरहेको छ, त्यो दोस्रो शीतयुद्ध हैन । चिनियाँ कम्युनिस्ट पार्टीले तेर्स्याएको चुनौतीको सामना गर्ने काम त्यसभन्दा बढी खतरनाक छ,’ उनले भने ।
पोम्पेओ अहिले मध्य युरोपको पाँचदिने भ्रमणमा छन् र चिनियाँहरूले विश्वमा प्रभुत्व जमाउन सक्ने जोखिमका विषयमा सचेत गराउँदै हिँडेका छन् ।
‘
चिनियाँ कम्युनिस्ट पार्टी हाम्रो अर्थतन्त्र, राजनीति र समाजमा पसेको छ जबकि सोभियत संघले त्यसो गर्न सकेको थिएन,’ उनले भने ।
रुसले झूटो सूचना प्रवाह तथा साइबर आक्रमणमार्फत चेक लोकतन्त्र र सुरक्षालाई अवमूल्यन गरिरहेको भए पनि चीनले नियन्त्रणमा रहनका लागि बाध्य पार्न चलाएको अभियान झन् बढी खतराका रूपमा रहेको पोम्पेओको आरोप छ ।
‘चिनियाँ कम्युनिस्ट पार्टीले देशहरूलाई आफूअनुकूल बनाउन आर्थिक शक्तिको उपयोग गर्ने गरेको छ,’ उनले भने ।
आफ्नो सम्बोधनमा पोम्पेओले चेक गणतन्त्र वर्षौंसम्म सोभियत संघको अधीनमा रहेको स्मरण गरे ।
‘तपाईंहरू तथा अन्य मुलुकहरू आइरन कर्टेनमा बस्नुपरेको थियो र कम्युनिस्टहरूले समाजलाई कसरी क्षति र दमनको बाटोमा लैजान्छन् भन्ने कुरा तपाईंहरूलाई राम्ररी थाहा छ,’ उनले भने । ‘आइरन कर्टेन झर्दा अमेरिकीहरूले तपाईंहरूको स्वतन्त्रताको उत्सव मनाएका थिए ।’
चेकहरूले कम्युनिस्ट शासनको प्रतिकार गरेको स्मरण गर्दै उनले चेक सिनेटरहरूलाई सार्वभौमसत्ता र स्वतन्त्रता अक्षुण्ण राख्नका लागि आह्वान गरे ।