
पार्टीभित्र देखिएको विवाद समाधान गर्दै अवरुद्ध स्थायी कमिटी बैठक सुचारु गर्ने विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार चार घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच बिहान ११ देखि दिउँसो झण्डै ३ बजेसम्म छलफल भएको हो ।
महासचिव विष्णु विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मालाई साथमा राखेर ओली र प्रचण्डले छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ५ दिनमा नेकपामा सहमति जुट्ने संकेत हिजो एक टेलिभिजन अन्तर्वार्तामा गरेका थिए ।
ओलीको भनाइलगत्तै बिहीवार दुई अध्यक्षबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक अलपत्र पर्दै आएको छ ।
साउन ६ गते केही समयका लागि बसेको बैठक त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।
केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने विकल्पमा समेत छलफल शुरू भएको नेकपा स्रोतले बतायो ।
महाधिवेशन आयोजक कमिटी बनाएर चैत्र अन्तिम साता महाधिवेशनमा जाने विकल्पमा छलफल भइरहेको स्रोतको दाबी छ ।
१० दिन देखिको संवादहीनता तोडिएर बिहीवार दुई अध्यक्षबीच सकारात्मक छलफल शुरू भएको नेकपा स्रोतले बतायो ।