१० साउन २०८३, आइतबार

प्रदेश सभाका गाडी प्रयोगमा मनलाग्दी: पहिलाकाले फिर्ता गरेनन्, अहिलेकाले थोत्रो भनेर लिएनन् !

साउन २९, २०७७
प्रदेश सभाका गाडी प्रयोगमा मनलाग्दी: पहिलाकाले फिर्ता गरेनन्, अहिलेकाले थोत्रो भनेर लिएनन् !

कर्णाली प्रदेश सभाका दुई संसदीय समितिका पूर्व अध्यक्षले नयाँ अध्यक्ष निर्वाचित भएको एक महिना बित्दा पनि गाडी फिर्ता गरेका छैनन् । 

प्रदेश सभाको स्टोर शाखाका सुरेन्द्र थापाका अनुसार हालसम्म तत्कालीन अध्यक्ष राजु नेपाली चढ्दै आएको गाडी र दीनबन्धु श्रेष्ठ चढ्दै आएको गाडी मात्र सम्पर्कमा छ । अन्य दुई गाडी फिर्ता नभएको उनले बताए ।

नेपालीले असार २९ गते नै गाडी फिर्ता गरेको पत्रसहित बा२झ २४०१ नम्बरको टाटा सुमोको चावी सचिवालयमा बुझाएकी छिन् ।

संसद्को सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै भागमा परेका कारण अध्यक्षमा दीनबन्धु श्रेष्ठ नै दोहोरिएपछि उनले संसद् सचिवालयबाट प्राप्त गरेको कर्णाली ०२ ००१ झ ००४५ नम्बरको रातो स्कोर्पियो प्रयोग गर्दै आइरहेका छन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले उनी नै समितिमा दोहोरिएका कारण गाडी फिर्ताको सबाल नआउने बताए ।

अर्थ प्राकृतिक स्रोत साधन समितिको अध्यक्षता अम्बरबहादुर थापाले गरेका थिए । उनको स्थानमा अहिले नेकपाकै सांसद गणेशप्रसाद सिंह छन् । सांसद थापा संविधान सभा सदस्य समेत थिए, उनले आजसम्म सचिवालयमा गाडी बुझाएका छैनन् । सांसद थापाले कर्णाली ००२ ००१ झ ००४० नम्बरको स्कोर्पियो काठमाडौं लिएर गएका छन् । 

समितिको अध्यक्ष नयाँ व्यक्ति चुनिएको १ महिना बित्दा पनि उनले गाडी फिर्ता गरेका छैनन् ।

विधायन तथा प्रदेश मामिला समितिको अध्यक्ष गरेका पदमबहादुर रोकायाले पनि हालसम्म गाडी फिर्ता गरेका छैनन् । उनले कर्णाली ०२ ००१ झ ००४४ नम्बरको स्कोर्पियो फिर्ता नगरेका हुन् । 

यता सांसद अम्बर थापाले भने गाडी लिएर काठमाडौं गएको स्वीकार गरे । 

आफू सुर्खेत आइसकेको र समितिका नवनियुक्त अध्यक्ष देवी वलीले गाडी रुकुम पठाइदिन भनेका कारण आफूले फिर्ता नगरेको बताउँदै एकदुई दिनमै प्रदेश सभा सचिवालयमा गाडी फिर्ता गरिदिने बताए ।

अर्का सांसद रोकायाले आफूले गाडी त्यही दिन छाडेको दाबी गरे । उनले गाडीको चाबी आफूले सचिवालयमा हस्तान्तरण नगरेको तर सचिव लगायतसँग मौखिक रूपमा भनेको बताए । दुवै पूर्व अध्यक्षलाई सैद्धान्तिक बेरुजु आउने त होला नि भन्ने प्रश्नमा त्यो बारेमा सचिवालयलाई नै सोध्न आग्रह गरे ।

यता प्रदेश सभा सचिव जीवराम बुढाथोकीले सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले मात्रै चाबी बुझाएको बताए ।

सार्वजनिक लेखा समितिमा पूर्व अध्यक्ष नै कायम भएको बताउँदै अन्य दुई अध्यक्षले गाडी कहाँ लगेका छन् आफूलाई जानकारी नभएको उनको भनाइ छ । 

‘जसरी गाडी सचिवालयबाट उहाँहरूले लिनुभएको हो त्यसरी नै फिर्ता दिनुपर्छ, बाँकी रहेका तीनवटा गाडी कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार प्रदेश सभा सचिवालयको हो,’ उनले भने, ‘उहाँहरूमाथि एक महिना गाडी प्रयोग गरेको सैद्धान्तिक बेरुजु आउने पक्का छ । नैतिकताका आधारमा उहाँहरूले गाडी प्रदेश सभालाई जिम्मा लगाउनुको साटो मनमर्जी तरिकाले गाडी कुदाउनु गलत हो ।’

यता, अर्थ तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद सिंहले प्रदेश सभा सचिवालयले आफूलाई गाडी नदिएको आरोप लगाए । ‘मैले गाडी मागेको थिएँ, तर अहिलेसम्म पाइएको छैन, म अहिले काठमाडौंमा छु,’ उनले भने ।

उनले यस्तो भनेपनि प्रदेश सभा सचिवालय स्रोत भने जगेडामा पुरानो गाडी रहेकाले अध्यक्ष सिंहले लिन नमानेको बताउँछ । स्रोत भन्छ, ‘सांसद नेपालीले गाडीको चाबी दिएलगत्तै हामीले गाडी लैजान भनेका हौं, तर उहाँले यस्तो थोत्रो गाडी चढ्दिनँ भन्नुभयो, हामीले जबरजस्ती जिम्मा लगाउने कुरा पनि भएन । केही गाडी फिर्ता नभएको र हामीसँग नयाँ गाडी नरहेको अवस्थामा कसरी नयाँ गाडी दिनु ?’

२७ महिना जेष्ठ सदस्यहरूले बैठक चलाएपछि समितिको नेतृत्व चयन असार २९ गते भएको थियो । विषयगत समितिको बैठक अहिलेसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको थियो ।

सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपाकै दानसिंह परियार र सामाजिक विकास समितिको अध्यक्षमा नेकपाकै देवी ओली निर्विरोध निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्