
एनआइसी एशिया बैंकले समयअनुरुप आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ ।
यस योजनामार्फत ग्राहक महानुभावहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठाउन सक्नुहुनेछ ।
यस बैंकले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा. लि., इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा. लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा. लि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।
जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रंीहरू खरिद गर्न सक्नुहुनेछ । अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहक महानुभावहरूले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम रू. ३० हजार देखि अधिकतम रू. ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिनेछ ।
यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफुलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गरी भरपुर फाइदा उठाउन सकिने बैंकले जनाएको छ ।
यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिएपश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ ।
उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहक महानुभावले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई डेलिभरी अर्डर दिनेछ । अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहक महानुभावहरूले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
यसका साथै बैंकको मोबाइल बैंकिङ्ग वा बैंकको कार्ड (डेबिट/क्रेडिट) हरू मार्फत भुक्तानी गर्दा ग्राहक महानुभावहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।