
कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ।
कर्णाली प्रदेशको प्रदेश विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबारको बैठकले स्वदेश तथा विदेशबाट आएका जाे सुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसाे प्रवेशका लागि पिसिआर परीक्षणकाे रिपाेर्ट अनिवार्य गर्ने निर्णय गरेकाे हाे।याे निर्णयसँगै भदाै १ गतेबाट पैदलयात्रीले पनि राति कर्णाली प्रदेश जान पाउने छैनन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले मुलुकभित्रबाट र विदेशबाट आउने नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा तीन दिन अगाडिको पिसिआर रिर्पोट अनिवार्य रुपमा लिने निर्णय पनि गरेकाे छ।
सुर्खेत जिल्लाबाट अतिआवश्यक सरकारी कामले जानुपर्दा र सो बाहिरी स्थानबाट भित्रिँदा सरकारी कर्मचारी र जनप्रतिनिधिले समेत पिसिआर गराई मात्र बाहिर जिल्ला जाने र भित्रिने निर्णय भएको छ।
मास्कको अनिवार्य रुपले प्रयोग गर्ने गराउने र समुदायस्तरमा मास्कको व्यवस्था स्थानीय तहले मिलाउने भनिएको छ। मस्क नलगाए कारबाही हुने भएको छ।
भारतबाट आउने नेपाली नागरिकलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टिनमा राख्ने तथा क्वारेन्टिनको क्षमता भन्दाबढी राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई पनि प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले समन्वय गरी आवश्यक कार्य गर्ने गराउने निर्णय भएको छ।
सामाजिक विकास मन्त्री दल रावलले एक पालिका एक क्वारेन्टिन वा आइसोलेशन स्थायी प्रकृतिको बनाउन स्थानीय तहसँग सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने गराउने बताए। उनका अनुसार कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यान जिल्लाको कालिमाटी काल्चे तथा कपूरकोट, सुर्खेतको बबई र कुइने नाकाबाट आउने नेपाली नागरिकलाई प्रवेशमा कडाईका साथ चेकजाँच गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयले स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय भएको छ ।
संक्रमितको दर बढि रहेको अवस्थामा कुनै पनि धार्मिक र सांस्कृतिक पर्वका जात्रा मेला, नाचगान नगर्न नगराउन र अत्यावश्यक अवस्थामा पन्ध्र जनाले दुरी कायम गरेर गर्ने बाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने भनिएको छ। निषेधित कार्य भए गरेको पाइएमा प्रभावकारी हस्तक्षेप समेत गर्ने निर्णय पनि बैठकले गरेको छ।
कोरोनाबाट सिर्जित त्रास र मनोसामाजिक भयबाट जनजीवनलाई सामान्य बनाउन र संक्रमणको नियन्त्रण गर्न हाललाई होटल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द गर्ने नीति लिइने भएको छ। तर, स्थानीय प्रशासनको स्वीकृतिमा सुरक्षा निगरानी प्रबन्ध गरी मापदण्ड पुगेका होटलको सूची बनाई आइसोलेसन तथा क्वारेन्टिनको लागि उपयोग गर्ने व्यवस्था मिलाउने र कुनै व्यक्ति व्यक्तिगत रुपमा होटलमा आइसोलेसनमा बस्न चाहेमा सुरक्षा सहितको प्रबन्ध गरी औचित्यको आधारमा राख्ने व्यवस्था प्रजिअले मिलाउन सक्नेछन्।
गोठीकाँडा र काक्रेबिहार क्षेत्रमा प्रायः शुक्रबार र शनिवार ठूलो संख्यामा मानिस घुमफिरका लागि आवत जावत गरेको पाइएकाले यस्तो आवागमनलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिए।