
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको एकता अक्षुण रहने बताएका छन् ।
शुक्रवार गठन गरिएको कार्यदलको संयोजकसमेत रहेका महासचिव पौडेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपामा विग्रह नहुने बताएका हुन् ।
उनले दुईजना अध्यक्षले आफ्नो अधिकारको प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गरेको र कार्यदलले पार्टीभित्रको समस्याको अध्ययन गरेर सुझावका रूपमा प्रतिवेदन पेश गर्ने बताए ।
‘दुईजना अध्यक्षले आफ्नो अधिकारलाई प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ,’ उनले भने, ‘कार्यदलले पार्टीभित्रको समस्या के हो त्यसलाई अध्ययन गरेर छिटै प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन समेतलाई आधार मानेर अध्यक्षद्वयले समाधानका प्रस्तावहरू पार्टीको औपचारिक निकायमा प्रस्तुत गर्नुहुनेछ ।’
उनले नेकपामा विग्रह नहुने र पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए । ‘नेकपामा विग्रह हुँदैन । एकताबद्ध भएर अघि बढ्छ । नेकपाको एकता अक्षुण रहन्छ । नेकपाभित्र खेल्ने व्यर्थका कोशिसहरू नगरे हुन्छ,’ उनले भने ।
शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको थियो । पार्टीभित्रको समस्या समाधान गर्न सुझाव सहित प्रतिवेदन दिने म्यान्डेट उक्त कार्यदललाई दिइएको छ ।
कार्यदलमा महासचिव पौडेल, प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका छन् ।
यससँगै महिनौंसम्म डेडलकमा रहेको पार्टीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।