
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुका १ पुरुषको कोरोना संक्रमणका कारण शनिवार बिहान निधन भएको छ ।
ज्वरो, रुखाखोकी र स्वासप्रस्वासमा समस्या देखिएपछि उनी उपचारको लागि बुटवल आएका थिए ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय ती पुरुषको अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका डा. तथा कोभिड फोकल पसर्न सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए ।
कोभिड–१९ जाँच गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको डा थापाले बताए । ती पुरुषमा निमोनिया देखिएपछि अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेको थियो । ती बिरामीको शुरूको रिपोर्ट नेगेटिभ आए पनि ‘जिन एक्सपर्ट’ गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. थापाले बताए ।
उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर आएका अस्पतालले जनाएको छ । २ दिनअघि बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत कपिलवस्तुका २ जनाको निधन भएको थियो ।