२८ जेठ २०८३, बिहीबार

नेपाल–भारतबीच तोडियो संवादहीनता, ओली–मोदी फोनवार्ता

नेपाल–भारतबीच तोडियो संवादहीनता, ओली–मोदी फोनवार्ता

नेपाल र भारतबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिवार टेलिफोन वार्ता भएसँगै लामो समयदेखिको संवादहीनता तोडिएको हो । 

नेपाली भूमि अतिक्रमण गरेर भारतले नयाँ नक्सा प्रकाशित गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । नेपाली भूमि अतिक्रमण गरेर नक्सा प्रकाशित गरेकोमा नेपालले कुटनीतिक नोट पठाएर तथा विज्ञप्ति मार्फत विरोध जनाएको थियो ।  

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा ओली र मोदीबीच शनिवार टेलिफोन वार्ता भएको हो । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर दुई प्रधानमन्त्रीबीच सौहार्दपूर्ण रुपमा कुराकानी भएको बताएका छन् । 

गत चैत २८ मा सार्क राष्ट्रका सरकार प्रमुखसँगको भर्चुअल सम्वादमा ओली र मोदीबीच कुराकानी भएको थियो । त्यसयता दुई प्रधानमन्त्रीबीच कुरा हुन सकेको थिएन । 

कुटनीतिक वार्ता मार्फत भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई सत्तारुढ नेकपाले आग्रह गरेको थियो । यस्तै संसदका समितिहरुले पनि अतिक्रमित भूमिमा नेपाली भोगाधिकार स्थापित गर्न सरकारलाई निर्देशन दिएका थिए ।

दुई प्रधानमन्त्रीबीचको फोनवार्तासँगै नेपाल भारतबीचको संवादहीनता तोडिएको छ । यसै साता काठमाडौंमा भारतीय राजदूत र नेपालका परराष्ट्रसचिव स्तरको संयन्त्रको बैठक हुने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्