
इरानलाई हतियार दिनमा लगाइएको प्रतिबन्धलाई लम्ब्याउने अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा विफल भएपछि आक्रोशित राष्ट्रपति डोनल्ड ट्रम्पले एकपक्षीय रूपमा प्रतिबन्ध लगाउन एक विवादास्पद प्रावधान उपयोग गर्ने प्रतिज्ञा गरेका छन् ।
सुरक्षा परिषदमा अमेरिकाले बेइज्जती खपेको एक दिनपछि ट्रम्पले न्यु जर्सी गल्फ क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘हामी पुरानै स्थितिमा फर्किनेछौं । तपाईंले अर्को हप्ता त्यो देख्न पाउनुहुनेछ ।’
ट्रम्पले अमेरिकालाई इरान आणविक सम्झौताबाट निकालेको भए पनि अमेरिका उक्त सम्झौताको एक सहभागीको हैसियतमा रहेको भन्ने तर्कलाई सन्दर्भ बनाएका हुन् । त्यसैले इरानले सम्झौताको शर्तलाई उल्लंघन गरेको लागेमा प्रतिबन्ध गराउनसक्नेछ ।
युरोपेली साझेदारहरूले वाशिङटन प्रतिबन्ध लगाउन सक्छ कि सक्दैन भन्ने विषयमा शंका गरेका छन् । अमेरिकाले पुरानै स्थिति ल्याउन खोजेमा सुरक्षा परिषद्ले अहिलेसम्मकै सबभन्दा खराब कूटनीतिक संकट बेहोर्नुपर्ने विज्ञहरूको राय छ ।
शनिवार इरानका राष्ट्रपतिले सुरक्षा परिषदमा अमेरिकाको प्रस्ताव बहुमतले अस्वीकृत गरिएको कुरालाई सन्दर्भ बनाउँदै यसबाट अमेरिकाको बेइज्जती भएको बताए ।
प्रस्तावमा रुस र चीनले विपक्षमा मतदान गरेका थिए भने पक्षमा अमेरिका र डोमिनिकन रिपब्लिक मात्र थिए । अन्य ११ सदस्यले मतदानमा भाग लिएका थिएनन् ।