
पार्टीभित्र देखिएको विवाद समाधानका लागि पहल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार बिहानका लागि पार्टी सचिवालयको बैठक बोलाएको छ ।
भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए ।
नेकपाभित्र सहमतिको खाका बनाउन गठन गरिएको कार्यदललाई अनुमोदन गर्न सचिवालय बोलाइएको ती नेताले बताए ।
शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए ।
माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सो कार्यदललाई सचिवालयबाट अनुमोदन गराउन माग गरेका थिए ।
कार्यदलले शनिवारदेखि नै काम शुरू गरेको छ । आइतवार पनि कार्यदलको बैठक बस्दैछ ।
कार्यदलमार्फत नै समस्या समाधान गर्ने भनिएकाले सचिवालय बैठकमा अन्य विषयमा छलफल नहुने ती सदस्यले बताए ।