
कोरोना भाइरसबाट संक्रमित भारतका पूर्वक्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ। उनी ७३ वर्षका थिए।
उनको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्।
चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहेका थिए। उनले महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गरेका थिए। उनले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए।
यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाएका थिए। उनले ७ वटा एकदिवसीय क्रिकेट खेलेका थिए। गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो।