१४ असार २०८३, आइतबार

हिजो दिनभर : भ्रष्टाचार अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त, उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण

हिजो दिनभर : भ्रष्टाचार अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त, उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण

नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाएको छ ।

आइतवार बसेको जनरल सैनिक अदालतले भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर बर्खास्त गर्ने निर्णय गरेको हो । सहायकरथी राणालाई १ करोड ७२ लाख जरिवाना गर्ने निर्णयसमेत सैनिक अदालतले गरेको छ ।

नेपाली सेनाको विज्ञप्तिमा जनाइएअनुसार सैनिक अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको गरिएको हो ।

‘आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीतिअनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोरोनाका कारण थप २ को मृत्यु, काठमाडौँ उपत्यकामा १ सय ७२ मा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा पर्साका १ पुरुष र मोरङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ । त्यस्तै डा. गौतमले प्रेस ब्रिफिङका क्रममा १२ हजार २ सय ४७ मा गरिएको परीक्षणमा ६ सय ४१ संक्रमित फेला परेको बताएका छन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए ६ सय ४१ कोरोना संक्रमित, १ सय ३४ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ सय ४१ नयाँ कोरोना संक्रमित भेटिएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १२ हजार २ सय ४७ मा गरिएको परीक्षणमा ६ सय ४१ संक्रमित फेला परेको बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर घर फर्कनेको संख्या १ सय ३४ रहेको छ ।

हालसम्म १७ हजार ३ सय ३५  संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।  

डा. गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ७२ मा संक्रमण देखिएको बताए ।

उनका अनुसार काठमाडौँ जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

सांसदको कोटमा सुन र चाँदीबाट बनेको नयाँ नक्साअंकित निसान छाप

नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका हुन् ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाएका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका माननीय सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो ।

ADVERTISEMENT

कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ ।

लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

प्रतिलोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो आजैदेखि उपलब्ध गराइने छ ।

salt training

कमेन्ट गर्नुहोस्